काठमाडौं। नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) र गणतन्त्र फिलिपिन्सको राजदूतावासबीच पर्यटन प्रवद्र्धन गर्ने विषयमा समझादारी भएको छ।

नाट्टाले अन्तर्राष्ट्रिय पर्वत पर्यटन दिवसका अवसर पारेर दुवै पक्ष एकापसमा पर्यटन प्रवद्र्धन तथा विकास, व्यावसायिक सद्भाव र पर्यटनको अभिवृद्धिलगायतका विविध सहयोगको क्षेत्रमा मिलेर काम गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा नाट्टाका अध्यक्ष रमेश थापा र नेपालका लागि फिलिपिन्सका राजदूत रामोन एस बागटसिंह जुनियर ले हस्ताक्षर गर्नुभएको हो।

यस्तै नाट्टा र चीनको इन्टरनेशनल टुरिजम अलायन्सको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय पर्वत पर्यटन दिवसका अवसर पारेर जेठ १५ गते साँखुदेखि नगरकोटसम्म पदयात्रासमेत गरेको छ।

पदयात्रामा शङ्खरापुर नगरपालिकाका प्रमुख रमेश नापित, चीनका लागि नेपाली प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी तथा नेपाल र चीनका पर्यटन व्यवसायीको सहभागिता रहेको थियो।