भारत सरकारले टिक–टक लगायतका ५९ वटा चिनिँया एपहरुमाथि लगाएको प्रतिबन्धको असर यतिखेर नेपाली टिक–टक प्रयोगकर्ताहरुमा परेको छ । समाचार भाइरल हुने बित्तिकै कार्यालयमा व्यस्त भइरहेको बेला मेरो मोबाइलमा श्रीमतीको म्यासेज आयो । हैन हउ बुडा इन्डियामा त टिक–टक ब्यान पो भएछ त, कतै नेपालमा पनि ब्यान हुने त हैन ? मैले सान्त्वना दिँदै भने नेपालमा ब्यान हुँदैन होला । उनि थप्दै गइन् यदी नेपालमा पनि ब्यान भयो भने त कसरी दिन कटाउनु ? त्यसै त लकडाउनले घरभित्रै बस्नुपरेको छ, अझ टिक–टक ब्यान भयो भने त म त उकथअय हुन्छु होला । टाइम पास गर्ने मेलो नै त्यही छ । अनि मेरो दिमागमा अलिक जोर पर्यो र भने हेर बुडी उहिले हाम्रा बा–आमाहरु मोबाइल नहँुदा पनि सहज जीवन बिताएका थिए । अहिले त फेसबुक छ, टुइटर छ, साथिभाईहरुसँग च्याटिङ गर्नु, देश, विदेशका नयाँ नौला समाचार पढ्नु, हेर्नु मात्रै भनेको थिए बुडी त रन्केर भन्न थालिन् हैन टिक–टक नबनाई फेसबुकको के मज्जा ? त्यही टिक–टक भिडियो फेसबुकमा अपलोड गर्न त फेसबुक चलाएको हो नी ।
अनि मैले सोचेँ यहाँ भन्दा अगाडी बोले भने नेपालमा टिक–टक ब्यान हुनु भन्दा पहिले घरमा मेरो दानापानी ब्यान हुन्छ । श्रीमती अझै आफ्ना कुरा भन्दै गइन् म सुन्दै गएँ र अन्त्यमा उनले थाकेर सुस्केरा हाल्दै भनिन् जे होस् बुडा नेपालमा चैँ टिक–टक ब्यान नहोस् बरु मेरो टिक–टकमा लाइक र कमेन्ट नगर्नेको मोबाइल ह्याङ होस् ।
श्रीमतीको कुरा त त्यस्तै हो अफिसमा दिनभर यसैको चर्चा, परिचर्चा चलेको छ । साथिहरु भन्छन् यसो फुर्सदमा समय कटाउने मेलो थियो त्यो पनि ब्यान हुने खतरा बढ्यो । हाम्रो समाजमा टिक–टकले यतिसम्म जरा गाडेको छ भन्ने कुराको भान सायद मलाई नभएर होला आजको दिन यसरी नै बित्दैछ ।
अफिस सकेर बेलुका घर पुगेँ । टिक–टकमा दैनिक ८/१० वटा भिडियो बनाउने छिमेकी बैनी रिसाउँदै भन्न थालिन् । हैन दाजु इन्डियाले के गरेको हो यस्तो ? टिक–टकले तिनिहरुको के बिगारेको थियो ? मेरो इन्डियाका टिक–टक फ्यानहरु धेरै छन्, अब सबै लाइक र कमेन्ट घट्ने भयो । विचारा बैनीलाई लाग्दो हो टिक–टक ब्यान गर्ने मान्छे म नै हो । ठुलै बज्रपात परे झैँ गरी बसेकी ती बैनीलाई मैले सम्झाउँदै भने हेर बैनी अब नेपाली गितमा टिक–टक बनाउनु पर्छ अनी नेपाली फ्यानहरु बढाउनु पर्छ । हिन्दी गित र डाइलगमा टिक–टक बनाउनु हँदैन । यति मात्र के भनेको थिएँ, बैनी रातोपिरो हुँदै चर्किन थालिन् । नेपाली गितमा टिक–टक बनाउन मज्जा नै आउँदैन । गित नै झुर हुन्छन् । हिन्दीमा डान्स गर्न पनि रमाइलो हुन्छ । बर्बाद बनायो इन्डियाले ।
म थाकेर नतमस्तक हुँदै आजदेखी टिक–टकको मामलामा नपर्ने र नबोल्ने वाचा गर्दै चुपचाप बस्ने निधो गरे । जय टिक–टक । जय नेपाली टिक–टक युजरस् ।