ओखलढुंगा। खिजीदेम्बा गाउँपालिकाले गाउँपालिकाभित्र सरकारी कामकाजको भाषा मातृभाषा बनाउने भएको छ। पन्ध्रौँ गणतन्त्र दिवसको अवसरमा नवनिर्वाचित अध्यक्ष गम्बु शेर्पाले गाउँपालिकाभित्रका विभिन्न जातजातिको मातृभाषालाई सरकारी कामकाजको भाषाा बनाउने निर्णय गरेको हो। 

गाउँपालिकाभित्रका वडाहरुमा सुनुवार, तामाङ र शेर्पा भाषालाई सरकारी कामकाजको भाषा लागूगर्ने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण पुरीले जानकारी दिए ।

गाउँपालिकाको वडा नं. १, २, ३, ४ र ५ मा सुनुवार भाषा वडा नं. २, ४, ५ र ६ मा तामाङ भाषा र  वडा नं. २, ६, ७, ८ र ९ मा शेर्पा मातृभाषा लागू निर्णय भएको छ। गाउँपालिकाका ती वडाहरुमा स्थानीय जातजातिको बसोबास, समुदायको उपस्थिती, बाहुल्य जनसंख्या रहेको आधारमा सरकारी कामकाजको भाषामा मातृभाषालाई मान्यता दिन लागेको अध्यक्ष शेर्पाले बताउनु भयो।

त्यस्तै, गाउँपालिका अध्यक्ष शेर्षाले गाउँपालिकाको वोर्डमा सामभोट लिपी प्रयोग गर्ने बताउनु भयो। राष्ट्रिय भाषा आयोग, आदिवासी जनजाति आयोग समेतको सिफारिसमा स्थानीय समुदायको मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने भनि नेपाल सरकारलाई सिफारिस गरिएको हो।