काठमाडौं। गणतन्त्र दिवसको अवसरमा ८ सय १८ कैदीलाई आम माफी दिईने निर्णय भएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै असल चालचलन भएकाहरू कैदीहरूको बाँकी कैद सजाय छुट दिन लागिएको हो।

विज्ञप्तिमा संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वय) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूको आधारमा तोकिएको सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २ सय ७२ जना र नरबहादुर साँवासमेतका ५ सय ४७ गरी कूल ८ सय १८ जना कैदीहरूलाई नेपाल सरकारको यही जेठ १० गतेको निर्णयानुसार २०७९ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा माफी मिनाहा गरेको उलेलेख छ।

त्यस्तै, राष्ट्रपति कार्यालयको अर्को विज्ञप्तिमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको शुक्रबारको सिफारिसमा उमाकान्त पराजुलीसमेतका १६ जन कैदीहरूको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय माफी गरिएको जनाएको छ।