रोङ। इलाम जिल्लाको रोङ गाउँपालिका वडा नम्बर ३ हाँसपोखरीमा किरात राईहरूको माङखिम अर्थात साकेला थानको उद्घाटन तथा साकेला नृत्य सम्पन्न भएको छ। बुधबार एक कार्यक्रमबीच नवनिर्वाचित गाउँपालिका अध्यक्ष मणिकुमार साङ्बोको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो।

कार्यक्रममा किरात राई रोङ ३ का अध्यक्ष गणेशकुमार बाङ्गदेल राईको अध्यक्षतामा प्रमुख अतिथि रोङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मणिकुमार स्वाङ्बो (सुवास तामाङ ), विशेष अतिथि रोङ गाउँ पालिकाका नवनिर्वाचित उपाध्यक्ष बिष्णुमाया खवास, किरात राई शालिक सातसक राई र अतिथिहरू रोङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मात्रिका बराल सदस्यहरू प्रेमराज गुरुङ,लिला राउत , वडा नम्बर ४का सदस्य हर्कबहादुर राई, किरात राई केन्द्रीय सदस्य शालिक सातसक राई, कराते अन्तर्राष्ट्रिय रेफ्री योगेश चाम्लिङ, आदिवासीजनजाति रोङ समन्वय समितिका अध्यक्ष रन्जित साम्पाङ रहेका थिए ।

कार्यक्रममा आफ्नो जातीय संस्कृति संरक्षण र सम्बर्द्धन गर्न हामी आफै लागि पर्नुपर्ने किरात राई केन्द्रीय सदस्य तथा विशेष अतिथि राईले बताए साथै साकेला नृत्यको बारेमा यसको अर्थ, नीति नियम समेत प्रष्ट पारे । कार्यक्रममा रोङको सम्पूर्ण जातजातिको संस्कृति संरक्षण र सम्बर्द्धन गर्न स्थानीय सरकारले गर्नुपर्ने सहयोग योजना बनाई समावेशी ढंगबाट गर्ने प्रतिबद्धता प्रमुख अतिथि तथा रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्वाङ्बोले जनाए । उक्त साकेला थानको स्तर उन्नति गर्न पहल,अर्थिक तथा भौतिक सहयोग गर्ने रोङ ३ का वडाध्यक्ष मात्रिका बरालले प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसैगरी रोङमा लेप्चा भाषा पाठ्यक्रम निर्माण भइ अध्ययनअध्यापन भइरहेकोछ अब अन्य जातिको पनि भाषाको संरक्षण र सम्बर्द्धन गर्न योजना निर्माण गरी कार्यान्वयन गर्ने उपाध्यक्ष विष्णुमाया खवासले बताएकि छिन् । कार्यक्रममा बिर्तामोड झापा, धरान तथा स्थानीय राई कलाकारले विभिन्न सिलीका साकेला नृत्य प्रस्तुत समेत गरेका थिए ।