मेरो मुटुका टुक्राहरु,

असिम प्रेमका भावहरु ।

बाबुहरु हो, आज तिमीहरुले जीवनको शुरुवातको संघर्षमा होमिदैछौँ । तिमीहरुले धेरै चुनौती पार गर्नुपर्नेछ । आजसम्म त आमाको आशिर्वादले पुगेको छ । सफलता भन्नु नै मिहेनतको कस्सी हो । तिमीहरुलाई छाडेको पनि धेरै भयो । जे होस् तिमीले परिचय बनाउनुपर्छ । जीवनका असिम चुनौतीले प्रगतिको बाटो र गन्तव्य देखाओस् । हेर तिमीहरु दुई दाजुभाईलाई मैले कहिल्यै फरक देख्ने दुष्कर्म गर्ने छैन । साँचै भन्नु हो भने तिमीहरु मेरा समान दुई आँखाका नानी हौ । लोकले तिमीलाई हाम्रो नामबाट होइन तिमीहरुको नामबाट हामी चिनिन चाहन्छौँ । हामीले भोगेको संघर्षको कथा त थाहा नै छ । तिमीहरुको जीवन हाम्रो जस्तो कुरुक्षेत्र नबनोस्, बाबू हो, तिमीहरुको जीवन एक सुन्दर फुलबारी झैँ बनोस् । जहाँ सबैले तिमीहरुको राम्रो चर्चा गरेको सुन्न चाहन्छौँ । तिमीहरुले भोली बुझ्ने नै छौ संघर्षका असिम पल कति तिति र वास्तविक हुन्छन् । हामीले तिमीहरुका निमित्त सारा जीवन अर्पेर हुर्कायाँै । आज तिमीहरु किशोर भैसकेका छौ । हाम्रो भरोसा अब तिमीहरु माथि छ ।

चेतन र चिन्तन बाबू हो, तिमीहरुको सफलताको कामना गर्नेहरुका लागि हामीले पनि साधुवाद दिनै पर्छ । साहारा हैन संघर्षको बाटो सधै खोज्नु  पर्छ । चाल्र्स डार्बिनले जे भने त्यो कुरा तिमीहरुले कदापी नभुल्नु, जो आफ्नो प्रगति चाहान्छ उसले संघर्षशिल हुनै पर्छ । यो स्वार्थी संसारको विष तिमीहरुलाई कहिल्यै नलागोस् । तिमीहरु लवकुश जस्तै सदैव एक अर्काको लागि राम्रो प्रगतिको कामना गर्न भुल्ने छैनौ भन्ने आशा छ । हामी अहिले धेरै कुरामा पछाडी परेका छौँ । देशको हालत पनि कमजोर छ । त्यस्तो देशको भविष्यका तिमी होनाहार कर्णधार हौ । र अफसोच तिमीहरुको साथमा हुनु नपाउनुको वास्तविक कारण पनि यही हो । नेपाल र नेपालीको प्रतिनिधि तिमी पनि हौ, भोलीका दिनमा तिमीहरुले नै हो देशका लागि योगदान र बलिदान दिने । हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए भने झैँ यदी शहिदको रगतले नेपालको प्रगति र विकास हुन्छ भने देशका लागि मर्न पनि डराउनु हुँदैन तिमिहरुले बाबू हो । एक वीर सपुतको बलिदानले मानव कल्याण हुन्छ भने जीवनको अमूल्य सार त्यसैमा रहेको हुन्छ ।

बाबू हो , तिमीहरु किशोर छौ, तिमीहरुले बिस्तारै समाजका काला धमिरा र देशका विषालु किराहरुले कसरी तिमी जस्ता सन्तान र सन्तानका अभिभावकलाई डसिरहेका छन् देख्नेछौ । तिमीहरु जस्ता नाबालकको रगत पिएका रक्त पिपासुको अन्त्य नभएसम्म देशको मुहार फेरिने वाला छैन ।

बाबू हो, जीवनको गति कसैले बुझ्न सक्दैन, समयको कालखण्डसँगै यी अनुभव गर्दै जाने विषय हो । ज्ञान र अनुभवको सिक्रीमा बाँधिएको व्यक्ति यथार्थमा दर्शनसम्म पुग्न सक्छ । आज तिमीहरु जसको संगतमा छौ, जसलाई नजिकबाट नियाली रहेका छौ, उसको विवेकलाई राम्रो गरि नियाल्नुपर्छ । आफन्तको व्यवहार त तिमीले देखेकै छौ , गोहीको आँशुको कथासँग मिल्ने गरिका छन् । जीवनमा पलपलमा होसियार हुनु पर्छ । जब तिमीहरु आफ्नो नयाँ जीवनको सुरुवात गर्नेछौ त्यो बेला जीवनको अग्नीपरिक्षाबाट गुज्रीने छौ । तर कति पनि बिचलित नहुनु, मानवीय जीवनको यो सहयात्रा सदैव विश्वासको माध्यामबाट चल्नुपर्छ ।

चिन्तन तिमीले अझै धेरै कुराको सुधार गर्नु पर्ने छ । चेतनको बारेमा पनि उस्तै कुरा भन्नु पर्छ । तिमीहरुको बाल्यकाल कहिले कता त कहिले कता बित्यो, जे भए पनि जीवन संघर्षको एक थालनी तिमीहरुले सानै देखि शुरु गरेको भने पक्कै हो । हर रात दिन तिमीहरुको सम्झनाले मनको गहिराइमा कति दर्द दिन्छ कसरी व्यक्त गरुँ ? राजा दशरथ पुत्र मोहको रापले जती जलेका थिए आज तिमीहरुको अभावमा छट्पटाइरहेको छु ।

हो, बाबूहरु हो, जीवनका अरु कुराहरु पनि तिमीलाई लेख्दै गरुँला, तिमीहरु जस्ता सपुतहरुले नै देशका लागि केही गर्ने चाहे बलिदान किन दिन नपरोस् । हो बाबू हो आज देश कपुतहरुको चंगुलमा फसेको छ, तिमी र तिम्रा सारा समकालिन पिढीमा यो कुरा पुगोस् की अब कदापी देश नरोओस् । हामी नेपाली, हाम्रो नेपाल, मुक्तिको संदेश सहित विकास र प्रगतिको गन्तव्यमा निरन्तर अघि बढ्न प्रेरणा मिलोस् । नेपाल आमाको सुपुत्र सन्तानको अनुपम उपमा बनेको देख्न पाउँ ।