खाङसाङ। स्थानीय तह निर्वाचनमा सिन्धुलीको फिक्कल गाउँपालिकामा रोचक प्रतिस्पर्धा भई रहेको छ। गाउँपालिकामा गठबन्धनले सुरुवाती अग्रता बढाए पनि वडा नं. ५ को गणना सकिँदा एमालेले अग्रता बनाएको छ।
भर्खरै प्राप्त मत परिणाम अनुसार गाउँपालिकाको वडा नं. १ देखि ५ सम्मको मत गणना सकिँदा गठबन्धनलाई पछि पार्दै नेकपा एमालेको गाउँपालिका अध्यक्षका उम्मेदवार पार्वती सुनुवारले ४० भोटको अग्रता बनाउनु भएको छ। यस अघि वडा नं. ४ को अन्तिम मत परिणाम आउँदा गठबन्धनका उम्मेदवार निर्प बहादुर भुजेल ९६ मतले अगाडी रहनु भएको थियो।
गठबन्धनले यसअघि वडा नं. १ बाट गाउँपालिका अध्यक्ष पदमा ३ सय ४८ भोटको अग्रता बनाएपनि त्यसपछि वडा नं. २ र ३ मा मतान्तर घटेको थियो।
स्थानीय तह निर्वाचनमा २०७९ मा गाउँपालिकाको वडा नं. १ देखि ५ सम्म मतगणा सकिँदा नेकपा एमालेका उम्मेदवार पार्वती सुनुवारले ३ हजार ४१९ मत र गठबन्धनका उम्मेदवार निर्प बहादुर भुजेलले ३ हजार ३७९ मत प्राप्त गर्नु भएको छ।
त्यस्तै, फिक्कल गाउँपालिकाको उपाध्यक्ष तर्फ नेकपा एमालेका उम्मेदवार राजु बराले गठबन्धनको उम्मेदवार लोकेन्द्र बहादुर कार्कीलाई ७६७ मतले अग्रता कायम गर्नु भएको छ। वडा नं. ५ को मत गणना सम्पन्न हुँदा उपाध्यक्षका उम्मेदवार राजु बरालले ३ हजार ६३१ र गठबन्धनका उम्मेदवार लोकेन्द्र कार्कीले २ हजार ८६४ मत प्राप्त गर्नु भएको छ।
गाउँपालिकाको ६ वटा वडामध्ये अब वडा नं. ६ को मात्र मत गणना बाँकि रहेको छ। वडा नं. ६ मा १ हजार ४८५ मत खसेको छ। स्थानीय तह निर्वाचन २०७९ मा गाउँपालिकामा ८ हजार ७ सय ८१ मत खरेको थियो।

