रामेछाप । रामेछाप जिल्लामा कांग्रेसले खाता खोलेको छ। जिल्लाको गोकुलगंगा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार काजीबहादुर खड्का (दिनेश) गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । उनले एमालेका उम्मेदवार खड्गबहादुर सुनुवारलाई पराजित गर्दै विजयी भएका हुन् । त्यसैगरी उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै उषा वस्नेत कार्की विजयी भएकी छिन्।

उनले एमालेबाट उपाध्यक्षकी उम्मेदवार राधिका श्रेष्ठलाई पछि पार्दै विजयी भएकी हुन् । गत निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष नै एमालेले जितेको थियो। गत निर्वाचनमा जितेकै आधारमा एमालेले खड्गबहादुर सुनुवार र राधिका श्रेष्ठलाई पुनः उम्मेदवार बनाएको थियो । छ वटा वडा रहेको गोकुलगंगा गाउँपालिकामा चार वटा वडामा कांग्रेस र दुई वटा वडामा एमालेले विजयी हासिल गरेको छ । मतगणना सम्पन्न भएपनि निर्वाचन अधिकृतको कार्यालय गोकुलगंगा गाउँपालिकाले औपचारिक घोषणा गर्न भने बाँकी छ। औपचारिक घोषणाको प्रतिक्षामा बसेका कांग्रेसका नेता कार्यकर्ताहरु विजयी जुलुस निकाल्ने तयारीमा रहेका छन्।