काठमाडौं। काभ्रेको रोशी गाउँपालिका-११ मा पर्ने डालाबेँसीमा भएको दुर्घटना अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा समिति गठन भएको छ। समितिमा तीन सदस्यीय छानविन समिति गठन भएको छ।

गृहमन्त्री बालकृष्ण खाणले भारतीय पर्यटक बोकेको मिनी बस र जीप ठोक्किँदा पाँचजनाको मृत्यु र १९ जना घाइते हुने गरी भएको दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरी नायब उपरीक्षक हरि खतिवडाको नेतृत्वमा घटनाको अनुसन्धानका लागि तीन सदस्यीय समिति बनाइएको हो। 

उक्त समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत र प्रहरी निरीक्षक सदस्य छन्। गृहमन्त्री खाणले काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई टेलिफोन गरी छानबिन समिति बनाउन निर्देशन दिनुभयो। सो दुर्घटना के कसरी भयो भनि सत्य तथ्य पत्ता लगाउन र आगामी दिनमा सो प्रकृतिका दुर्घटना हुन नदिन चाल्नुपर्ने कदमहरू पहिचान गरी राय सहितको प्रतिवेदन उपलब्ध गराउन समिति गठन गरिएको काभ्रेपलाञ्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी अमरदीप सुनुवारले बताउनु भयो।

बुधबार मध्याह्न काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको UP-58-T-8181 नंको मिनी बस र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ४२१० नं.को सुमो ठोक्किँदा दुई महिला, दुई पुरुष र एक बालक गरी पाँचजनाको मृत्यु भएको थियो।