काठमाडौं– वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघले एक हप्तासम्म विलासी वस्तुहरुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ। 

आइतबार बसेको संघको बैठकले आगामी वैशाखमा निक्षेपको ब्याजदर स्थिर राख्ने र एक हप्तालाई अत्यावश्यक बाहेकका वस्तुहरुको एलसी नखोल्ने निर्णय गरेको हो। बढ्दो आयातका कारण विदेशी मुद्रा बाहिरिने क्रम बढेको भन्दै नेपाल राष्ट्र बैंकले विलासिताका वस्तुहरुको एलसी नखोल्न भनेको थियो।

कम्तीमा एक हप्ता एलसी नखोल्ने र त्यसपछि आवश्यकताका आधारमा निर्णय गर्ने संघको निर्णय छ। राष्ट्र बैंकले केही दिनअघि सबै बैंकका सीईओहरुलाई बोलाएर एलसी नखोल्न मौखिक निर्देशन दिएको थियो।