काठमाण्डौ । सरकारले जेष्ठ नागरिक अस्पताल बनाउनका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।
हिजोको मन्त्रीपरिषद्को बैठकका निर्णय आज सार्वजनिक गर्दै सरकरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जेष्ठ नागरिकलाई विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहितको जेष्ठ नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति दिएको जानकारी दिनु भएको हो ।
अस्पताल निर्माण लागि स्वास्थ्य मन्त्रालयले सह–सचिव मदन भुजेलको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको छ । टोलीले अस्पताल कुन ठाउँमा बनाउने, आवश्यक जग्गा व्यवस्थापन र लागत स्टिमेटबारे अध्ययन गरेर प्रतिवेदन बुझाउने प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
यस्तै सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ । सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा वसन्तकुमार पाण्डेलाई नियुक्ति गरेको पनि प्रवक्ता कार्कीले बताउनुभयो । प्रवक्ता कार्कीले सरकारले श्रम अदालतको अध्यक्षमा उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासका न्यायाधीश वासुदेव आचार्यलाई तोकेको बताउनुभयो । त्यस्तै सरकारले बुढीगण्डकी जलविद्युत आयोजना सम्बन्धी नेपाल सरकार मन्त्रीपरिषद्को २०७५ असोज ५ गतेको निर्णय खारेज गरेको छ ।

