उदयपुर। चैत्र २२ गते मङ्गलबार (हिजो) उदयपुरको बेलका नगरपालिका वडा नं. -६ किरात चोक निवासी कविता सुनुवारको विभत्स हत्यामा आफ्नै साथी संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ। घटना भएको भोलिपल्ट २३ गते बुधबार (आज) जिल्ला प्रहरी कार्यालय उदयपुरले हत्यारालाई पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेका २ जनालाई सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलन गरी प्रहरीले हत्यामा संलग्न बेलका नगरपालिका -३, बस्ने १९ वर्षिय विनोद ढकाल र उनको काकाकी छोरी १७ वर्षिया सरिता ढकाल (खत्री) लाई सार्बजनिक गरेको हो। सरिता ढकाल (खत्री) मृतक कविता सुनुवारसँगै एउटै कक्षामा अध्ययनरत छात्रा हुन्। एक वर्षदेखि बहिनीकै घरमा बस्दै आएका दाजु विनोदको घर भने भारतको सिक्किम राज्य वियुङ रहेको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ गरेको दुई जनामध्ये किशोरी नावालिका रहेकोले दाजु विनोदलाई मात्र पत्रकार सम्मेलनमा उपस्थित गराईएको जनाएको छ। प्रहरीको अनुसन्धानमा हालसम्म हत्यामा दुईजना मात्र सङ्लग्न देखिएको बुझिएको छ।
मङ्गलबार बिहान ट्युसन (अतिरिक्त कक्षा) पढ्न जाँदै गर्दा आफ्नै साथी कविता सुनुवारलाई हत्या गरेको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोराले बताए। उनीहरुले हत्या गरेको स्वीकार गरी सकेको एसपी बोहोराले बताएका छन्। अनुसन्धानले हत्याको कारण प्रतिशोध रहेको बुझिएको छ। मृतक कविता र हत्या गर्ने सरिता मिल्ने साथी हुन्। उनीहरु दुबैजना स्थानीय कोशी जनता माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा हुन् । प्रहरी अनुसन्धानमा उनीहरू साथी–साथीबीच मिलन देखिए पनि भित्रभित्रै मनमुटाव, विवाद हुने र एकअर्कामा कटाक्ष हुने गरेकाले प्रतिशोध साधेकी सरिताले मार्ने योजना बनाएकी थिइन् । सो योजनामा दाजु विनोदको मद्दत लिएर आफ्नै साथीको हत्या गरेकी थिइन्।
सुरुमा पछाडीबाट खाली वियरको बोतलले टाउकोमा प्रहार गरेको र अरुले थाहा पाउने डरले पछि ढुङ्गाले हानेर मारेको बयान हत्यामा सङ्लग्न सरिता र दाजु विनोदले दिएको प्रहरीले जनाएको छ। उनीहरुले हत्या गरि सकेपछि करिब ४० मिटर टाढा घिसार्दै लगेर खोला नजिक लास लगेर छाडेका थिए ।
घरबाट हिँडेकी कविता सुनुवार केही घण्टापछि गाउँलेले मृत अवस्थामा भेटेर प्रहरीलाई खबर गरेका थिए । हत्यापछि घरै बसेका दाजुबहिनीलाई प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा घरैबाट चैत २२ गते नै पक्राउ गरी अनुसन्धान गरेको थियो ।
मृतकबा बाबु कृष्ण सुनुवारले हिजो नै उनीहरुको नामसहित किटानी जाहेरी दिई सकेका छन्। उनीहरु उपर कर्तब्य ज्यान मुद्दा परेको छ। मृतक कविताका बाबु कृष्ण सुनुवारले इलाका प्रहरी कार्यालय रामपुरमा दर्ता गरेको जाहेरी उपर कानुनी कारबाही अगाडी बढ्ने क्रममा आज दुबैजनाको जिल्ला अदालत उदयपुरमा म्याद थप भएको प्रहरीले जनाएको छ। दोषी सरितालाई ५ दिन र दाजु विनोदलाई ७ दिनको म्यान थप भई थप अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाएको छ।
प्रहरीले हत्यारा सार्वजनिक गरेपछि हिजोदेखि आन्दोलित भएका स्थानीय र आफन्तले पोष्टमार्टमका लागि वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको मृतक किशोरीको शब बुझेर सदगद गर्न सहमत भएका छन् ।
यो पनि पढ्नुहोस्:

