उदयपुर। पढाईमा अब्बल कविता सुनुवार बिरामी भएका कारण विद्यालय नगएको २० पछि विद्यालय जाँदै गर्दा विद्यालय पुग्न नपाउँदै क्रुर हत्या भएको प्रधानाध्यापक सुर्यनारायण शाहले बताएका छन्। कोशी जनता माविका प्रध्यानाध्यापक सुर्यनारायण शाहले कक्षा १० की अब्बल विद्यार्थीको क्रुर तरिकाले हत्या भएको हो।
प्रधानाध्यापक शाहका अनुसार साथीले फोन गरेपछि उनी विद्यालय जान घरबाट निस्केको उनको साथीको बयानलाई उद्धृत गर्दै जनचासो स्रोतलाई जनाएका छन्। कविता साथीसँगै विद्यालय हिँडेको तर शंकास्पद तरिकाले उनी घर फर्किएकी र उनका साथमा केही छोरा मान्छे समेत रहेको प्रध्यानाध्यापक साहले बताए।
साहका अनुसार बेलका नगरपालिकाले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि अतिरिक्त कक्षा सञ्चालन गरेको छ। विद्यालयले बिहान सवा ६ बजे अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको छ।
बेलका नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भरतबहादुर मगरका अनुसार यसोदा खोलाको पूर्वपट्टी बाँसघारी छ। त्यहाँबाट करिब साठी मिटर तल कवितालाई घिसारेर लगिएको देखिएको छ। ‘घिसारेर लगेर केही तल पुगेपछि टाउकोमा ढुंगा प्रहार गरिएको देखिएको छ,’ वडाध्यक्ष मगरले भने, ‘घिसारेको ठाउँमा रगत छ, घिसार्दै फेरि अर्को ठाउँमा लगेर अनुहारमा ढुंगाले बेस्सरी हिर्काइएको छ।’ ढुंगा प्रहारबाट कविताको अनुहार क्षतविक्षत छ। उनको अनुहार चिन्न नसक्ने अवस्थामा छ।
उदयपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराका अनुसार अनुसन्धानका लागि ती साथी र उनका दाजु नाता पर्ने विनोद ढकाललाई पक्राउ गरिएको छ । साथीले फोन गरेर बोलाएको र विनोद पनि पछिपछि गएर दुबैले मिलेर कविताको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाको अनुसन्धान संघीय प्रहरी इकाई कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय उदयपुरले गरिरहेका छन्।
घटना स्थलको मुचुल्का उठाएर मृतक कविताको शव धरान स्थित विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी वेद प्रसाद गौतमले जानकारी दिएका छन्।
कविता सुनुवार मृत्युको घटनालाई लिएर घटनाको निष्पक्ष छानविन गर्न माग गर्दै कोसी जनता उच्च मावि रामपुरका विद्यार्थीहरु आन्दोलित भएका छन्। विद्यालय जाँदै गरेको विद्यार्थी नै यसरी असुरक्षित भई ज्यान गुमाईरहेको भन्दै यसको तत्काल प्रतिक्रिया स्वरुप घटना सत्यतथ्य पत्ता लगाउन मागसहित विद्यार्थीहरुले आन्दोलन थालेको हो। कविता अध्यानरत विद्यालयका विद्यार्थी लगायत अन्य विद्यार्थी र स्थानीयहरुले आन्दोलन गरिरहेका छन् ।