सिन्धुली। कमलामाई नगरपालिका नगर प्रमुख खड्ग बहादुर खत्री र उपप्रमुख मञ्जु देवकोटाले प्रयोग गर्दै आएको सरकारी सवारी साधन कमलामाई नगरपालिकालाई फिर्ता गरेका छन्। आईतबार पत्रकार सम्मेलन गरी नगर प्रमुख खत्री र उपप्रमुख देवकाेटाले प्रयाेग गर्दै आएको सवारी साधन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकाललाई हस्तान्तरण गरेका हुन्।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगरप्रमुख खत्रीले भने "हामी राजनीतिक कार्यक्रम र अभियानमा सरकारी साधनहरू उपयोग गर्ने छैनौँ। राजनीतिक अभियानमा जनताको घरदैलोमा पुग्दा हामी राजनीतिक कर्मीको भुमिका निर्वाह गर्नेछौँ।"
नगर प्रमुख खत्रीले नगरपालिका घोषणा भएको दुई दशकसम्म नगरको अत्यन्त न्यून आधारभूत पूर्वाधारमा मात्र गुज्रेको अवस्थामा आफू निर्वाचित भएर खानेपानी र उज्यालो (विद्युत) को अवस्था नगरमा १५ प्रतिशतमात्र रहेको, सडक सञ्जालबाट धेरै वडाहरु वञ्चित रहेको, शिक्षाको पूर्वाधारको रुपमा रहेका विद्यालय भवनहरु रुग्ण रहेको, विशिष्टिकृत उत्पादन र स्वनिर्भर उत्पादनहरु नरहेको अवस्थामा पनि निर्वाचित भए यता नगरबासीहरूको चाहनालाई सक्दो सम्बोधन गरेको बताए। ऐतिहासिक सिन्धुलीगढी इतिहासको रुग्ण अवस्था, नगर पर्यावरण र सरसफाईलाई विकासको सुचकको रुपमा नलिइएको अवस्थाकाबीच नगरबासीहरुले नगरको समग्र विकासको जिम्मा दिएर चुनेर पठाएको स्वीकार गरेका छन्।
नगर प्रमुख खत्रीले नगरवासीहरुको चाहनालाई पुरा गर्नु प्रमुख कर्तव्य भएको बोध हुँदाहुँदै आन्तरिक आयस्रोत, संघ र प्रदेशको अनुदानको पुनर्वितरणको असमान नीतीले गर्दा हामीसँग नगरको पूर्वाधार विकासको लागि साधन र स्रोतको सँधै अभावका झेल्नु परेको तथापि विकास निर्माणका उपलब्ध स्रोत र साधनको विशिष्ट संयोजन गरेर र विभिन्न निकायहरुसँग सम्बन्ध विस्तार गरेर नगरवासिहरुको चाहनालाई सक्दो सम्बोधन गर्ने प्रयास गरेको बताए।

