सिन्धुली। भूमिहिन तथा सुकुम्बासी समस्या समाधान आयोगले सिन्धुली जिल्ला स्थित दुधौली नगरपालिकाका १ सय ६ भूमिहिन सुकुम्बासीलाई जग्गा धनी प्रमाण पूर्जा (लालपूर्जा) प्रदान गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले नगरभित्रका भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गरेकी हुन्।

सिन्धुलीको दुधौली नगरपालिकाभित्र रहेका भूमिहिनहरूलाई जग्गाधनी प्रमाण पूर्जा प्रदान गर्ने पहिलो चरणको कार्यक्रममा सुकुम्बासी मुसहर समुदायले जग्गा धनी प्रमाण पत्र वितरण गरिएको नगर प्रमुख घनश्याम राउतले बताए । नगरले भूमिहिनहरूको पहिचान गरी आफ्नो नाममा जग्गा धनी प्रमाण पूर्जा नरहेकाहरूलाई आईतबार एक कार्यक्रमबीच जग्गा धनी प्रमाण पूर्जा वितरण गरिएको हो। पहिलो चरणमा नगरपालिकाको वडा नं. ९ र १० का भूमिहिनहरूलाई जग्गा धनी प्रमाण पूर्जा प्रदान गरिएको छ।

दुधौली नगरपालिकामा आयोजित जग्गा धनी प्रमाण पूर्जा वितरण कार्यक्रममा भुमि व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठको प्रमुख आतिथ्यता तथा संघिय सांसद गणेश कुमार पहाडी, प्रदेश सांसद राजन दाहाल, प्रदिप कुमार कटुवाल, समाजवादीका नेता तथा पूर्व सांसद गंगा प्रसाद नेपाल, भूमि आयोगका केन्द्रीय अध्यक्ष, भूमि आयोग सिन्धुलीका अध्यक्ष रामकुमार पौडेल लगायतको उपस्थिति रहेको थियो।