पुथा उत्तरगंगा। पुर्खाजित राईको परिकल्पना तथा निर्देशनमा रुकुम पूर्वका विभिन्न स्थानहरु सडक नाटक ”थकथकी” मञ्चन गरिएको छ । पूर्वी रुकुमको महेन्द्र उ.मा. वि. तक, नयाँबजार तकसेरा र पुथा हिमालय मा. वि. मैकोट गरी तीन स्थानमा जनचेतनामूलक सडक नाटक ”थकथकी” मञ्चन गरिएको हो।
सडक नाटकले नाटकमा बाल विवाह गर्दा व्यक्तिलाई हुने जोखिम र समाजमा पर्ने त्यसको नकारात्मक असरलाई देखाउँदै यसका न्यूनीकरणका उपायहरु प्रस्तुत गरिएको नाटकका निर्देशक पुर्खाजित राईले बताए । राईको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा जे.बि.डि.सि, ज्योति राई, प्रिती पुन, मन प्रसाद वि.क, संस्कृति पुन मगर, रेन्जु बुढा, संजु घर्ति, सुरबी पुन, सपना पुन, सिरमाया पुन, जलन गुरुङको अभिनय रहेको थियो।
रुकुम पूर्व लगायत नेपालका अन्य पहाडी तथा हिमाली जिल्लाहरुमा अझै पनि बालविवाहको प्रचलन ब्याप्त रहेकाले यसलाई न्यूनीकरण गर्न जनचेतना समेटिएको नाटक प्रभावकारी हतियार बन्ने निर्देशक राईले बताए ।
जनचेतना मूलक सडक नाटक प्रतिनिधिसभा सदस्य माननीय कमला रोकाको प्रमुख आतिथ्यतामा पुथा उत्तरगंगा गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ सिल्डको अवसर पारी मञ्चन गरिएको हो । उक्त कार्यक्रममा प्रदेश सांसद माननीय तेज बहादुर ओली लगायत विभिन्न राजनितिक दलका नेता, पालिकाको प्रबक्ता भिम मल्ल, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
सडक नाटक रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोग र ग्लोबल कनेक्सन मिडिया प्रा.लि.ले निर्माण गरेको हो।

