रामेछापका विभिन्न स्थानीय तहहरुले कोरोना रोकथाम, नियन्त्रण, व्यवस्थापन र उपचारमा खटिएका कर्मचारीहरुलाई कोरोना जोखिम भत्ता वितरण गरेका छन् । जिल्लाको रामेछाप नगरपालिकासहित खाँडादेवी, उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाले एक करोड २६ लाख लाख ६६ हजार ५७५ रुपियाँ बराबरको जोखिम भत्ता बाँडेका छन् ।

गोकुलगंगा गाउँपालिकाले आफ्नै स्रोत तथा रामेछाप नगरपालिका, खाँडादेवी र उमाकुण्ड गाउँपालिकाले सङ्घीय सरकारको सशर्त अनुदानबाट प्राप्त रकमबाट जोखिम भत्ता बाढेका हुन् ।

उमाकुण्ड गाउँपालिकाले भत्ता बापत २८ लाख ३१ हजार ८ सय ५५ रुपियाँ बाँडेका छन् । महामारीका समयमा सेवामा खटिएका ४१ जना स्वास्थ्यकर्मी र ९ जना अन्य क्षेत्रका कर्मचारीहरु गरी जम्मा ५० जनालाई उनीहरुको एक महिनाको तलबको ५० प्रतिशतका दरले भत्ता प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक दिपेन्द्र पैकराले बताए । गत आर्थिक वर्ष २०७६/०७७ को चैत असार मसान्तसम्मको अवधिमा खटिने कर्मचारीहरुले भत्ताबापतको रकम पाएका हुन् ।  

यस्तै गोकुगंगा गाउँपालिकाले कर्मचारीहरुलाई जोखिम भत्ताबापत करिब १९ लाख रुपियाँ भुक्तानी गरिएको छ । स्वास्थ्य र अन्य क्षेत्रका कर्मचारी गरी जम्मा ४२ जना कर्मचारीहरुलाई उनीहरुको एक महिनाको तलबको ५० प्रतिशतका दरले हुन आउने रकम बराबरको जोखिम भत्ता दिइएको गोकुलगंगा गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक जागिर रायले बताएका हुन् । गत आर्थिक वर्षको चैत महिनादेखि असार मसान्तसम्मको अवधिमा सेवामा खटिने कर्मचारीहरुलाई जोखिम भत्ता बापतको रकम प्रदान गरिएको हो उहाँले भन्नुभयो ।

खाँडादेवी गाउँपालिकाले कोरोना महामारीको बेलामा निरन्तर सेवामा खटिने कर्मचारीहरुको जोखिम भत्तामा ३९ लाख ४९ हजार ७ सय ९२ रुपियाँ खर्च गरेको हो । कोरोना महामारीको बेला सेवामा खटिएका ६३ जना स्वास्थ्यका कर्मचारीहरुलाई उनीहरुको एक महिनाको तलब बराबरको ७० प्रतिशतका दरले हुन आउने रकम बराबरको जोखिम भत्ता दिइएको खाँडादेवी गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक ओमप्रकाश श्रेष्ठले बताउनुभयोे । संघीय सरकारको कार्यविधिका आधारमा ५० प्रतिशत र गाउँपालिकाको निर्णय बमोजिम २० प्रतिशत गरी कुल ७० प्रतिशतका दरले जोखिम भत्ता प्रदान गरिएको छ उहाँले भन्नुभयो ।

रामेछाप नगरपालिकाले २९ लाख ९१ हजार १ सय ७० रुपियाँ कोरोना जोखिम भत्ता बाढेको छ । नगरपालिकाले कोरोना महामारी रोकथाम, नियन्त्रण र व्यवस्थापनमा खटिने ६० जना स्वास्थ्यकर्मी र सवारी चालक तथा अन्य कर्मचारी ८ जना गरी जम्मा ६८ जनालाई उक्त रकम प्रदान गरिएको नगरपालिका स्वास्थ्य शाखाका संयोजक विष्णु कार्कीले बताउनुभयो । 'सङ्घीय सरकार, प्रदेश सरकार र नगरपालिकाको आन्तरिक स्रोतबाट प्राप्त बजेटबाट कर्मचारीहरुलाई जोखिम भत्ता प्रदान गरिएको हो । चैतदेखि असार मसान्तसम्मको अवधिमा सेवामा खटिने कर्मचारीहरुलाई जोखिम भत्ता बापतको रकम प्रदान गरेका छौँ' कार्कीले बताउनुभयो । 

नगरपालिकाको निर्णय बमोजिम आइसोलेशन, क्वारेन्टाइनमा खटिने कर्मचारीहरुलाई सय प्रतिशतका दरले हुन आउने मासिक तलब बराबरको र स्वास्थ्य प्रमुखहरुलाई मासिक तलब बराबरको ७५ प्रतिश र अन्य कर्मचारीहरुलाई ५० प्रतिशतका दरले जोखिम भत्ता वितरण गरिएको छ। आठ स्थानीय तह रहेको रामेछापका दोरम्बा र सुनापति गाउँपालिका बाहेका पालिकाहरुले कोरोना जोखिम भत्ता प्रदान गरेका छन् ।