१६ चैत, जनचासो खबर । आज बुधबार नेपालले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गतको दोस्रो खेल मलेसियासँग खेल्दैछ । टि.यु. क्रिकेट मैदानमा दिउँसो १२:४५ बाट खेल सुरु हुनेछ ।
दुवै टिमले पहिलो खेलमा पिएनजीलाई पराजित गरेको छ । दुवै टिमले पहिलो खेल जितेको हुँदा उच्चमनोबलका साथ मैदानमा उत्रने छ । नेपाललाई होमफिल्ड र घरेलु दर्शकको दरिलो साथ हुनेछ ।
नेपाल र मलेसियाबीच यस अघिको सात पटकको भेटमा नेपाल छ पटक विजयी भएको छ भने मलेसिया एक पटकमात्र विजयी बनेको छ । यो सफलतालाई बढाउने दाउमा नेपाल मैदानमा उत्रने छ भने मलेसियाले नेपालाई हराउँदै आफ्नो रेकर्ड सुधार गर्ने दाउमा हुनेछ ।
नेपालको टिममा सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल, रोहित पौडेल र आदिल अन्सारी हुनेछन् ।