काठमाण्डौ । स्थानीय तहको निर्वाचनमा सुरक्षामा खटिने म्यादी प्रहरीका लागी देशभर २ लाख ८० हजार भन्दा बढिको आवेदन परेको छ ।

प्रहरी प्रधान कार्यालयले चैत ६ देखि ११ गतेसम्म दरखास्त फारम खुलाएकोमा शुक्रबार अन्तिम दिनसम्म २ लाख ८० हजार ४ सय ९५ जनाले फारम भरेका हुन् । प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरीका लागि दरखास्त फारम खुलाएको थियो । निर्वाचन आयोगले वैशाख ३० गते स्थानीय निर्वाचनको तयारी गरेसँगै म्यादी प्रहरी भर्नाको फारम खुलाइएको थियो । फारम भरेकाबाट चैत्र १४ गतेदेखि छनोट सूची प्रकाशनको कार्य सुरू हुने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिनुभयो ।

 अन्तिम नामावली २६ गतेसम्म प्रकाशन भएर २७ गते नियुक्तिको काम थालिने र त्यही दिनबाट तालिम सुरू हुने केसीले बताउनुभयो । तालिम एक सातादेखि १० दिनसम्म हुने प्रधान कार्यालयले जनाएको छ । म्यादी प्रहरीका लागि १८ देखि ५४ वर्ष उमेर भएकाले निवेदन दिन पाउने व्यवस्था थियो । म्यादी छनोटमा पूर्वप्रहरी, पूर्वसैनिक लगायत राष्ट्रिय अन्तर्राष्ट्रिय फौजी संगठनमा काम गरेका व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राखिएको छ । ४० दिनका लागि नियुक्त हुने म्यादि प्रहरीले तलब–भत्ता–राशनवापत एक जनाले ४३ हजार रुपैयाँसम्म पारिश्रमिक पाउनेछन ।००००