काठमाडौं । एक नाबालिग गायिकामाथि बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई थुनामा पठाउने आदेश दिएको छ । तनहुँ जिल्ला अदालतले अभियुक्त शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।
बुधबार र बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले पललाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । तत्काल प्राप्त प्रमाणबाट आरोपी कसूरदार देखिएको भन्दै अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
अदालतको आदेशबाटै पललाई जिल्ला कारागार तनहुँमा पुर्पक्षका लागि थुनामा पठाइएको छ । मतियारका रुपमा मुद्दा दायर गरिएका पल शाहका म्यानेजर कृष्ण जोशीसँग भने एक लाख रुपैयाँ धरौटी माग गरिएको छ । २०७८ वैशाख १४ गते तनहुँमा नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध जाहेरी परेको थियो । फागुन १५ गते आफैं प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका शाहविरुद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
दर्ता लगत्तै अदालतले उनीसँग बयान लिएको थियो । शाह र उनका म्यानेजर कृष्ण जोशीसँगको बयानपछि सरकारी वकिल र पीडित पक्षका निजी कानुन व्यवसायीले बहस गरेका थिए । पल पक्षका कानुन व्यवसायीको बहस सकिएपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
म्यानेजर कृष्ण जोशीसँग भने अदालतले एक लाख धरौटी माग गरेको छ । घटनामा मतियारका रुपमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । घटना घटाउन सहज बनाइदिएको र घटना सार्वजनिक भएपछि ढाकछोप गर्न खोजेको आरोप उनीमाथि छ ।
पललाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना गर्न माग गरिएको छ । उनका म्यानेजरलाई त्यसको आधा सजाय माग गरिएको छ । पलविरुद्ध जिल्ला अदालत नवलपुर-९ (पूर्वी नवलपरासी) मा पनि बलात्कारको अभियोगमा मुद्दा दर्ता भएको छ ।
तनहुँमा आदेश आएपछि अब पललाई थुनछेक बहसका लागि नवलपुर लगिने छ । दुवैतिर एकसाथ अनुसन्धान हुँदा नवलपुरमा पहिल्यै मुद्दा दर्ता भए पनि थुनछेक बहस हुन सकेको छैन । तनहुँमा थुनछेक आदेश भएसँगै नवलपुर पठाइदिन त्यहाँको अदालतले पत्र पठाइसकेको छ । थुनछेक बहसमा जाहेरवालाको पक्षबाट दुई सरकारी वकिलसहित नौजना कानुन व्यवसायीले बहस गरेका थिए ।
पीडितको पक्षमा जिल्ला न्यायाधिवक्ता रामचन्द्र पौडेल, सह-न्यायाधिवक्ता विपिनराज तिवारी, वैतनिक वकिल शिवराज काफ्ले र ६ जना निजी कानुन व्यवसायीले बहस गरे । निजी कानुन व्यवसायीहरु मोहना अन्सारी, राधिका खतिवडा, किशोर सापकोटा, टेकनारायण गौतम, सरिता तिवारी, विरोध प्रसाद लामिछाने, शिवराज काफ्लेसहितले पीडितको पक्षबाट बहस गरेका थिए ।

