काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ ।

गएको बिहिबार र आइतबार दुई कारोबार दिनमा नै डेढ सय अंकभन्दा माथिको वृद्धि भएको बजारमा सोमबार ब्रोकर डाटा सेन्टरमा समस्या हुँदा दुई घण्टा पनि कारोबार हुन सकेको थिएन । मंगलबार दोहोरो अंकले गिरावट भएको नेप्से आज पनि १९.६५ अंकले गिरावट हुँदा २६३१.३२ अंकमा बन्द भएको छ ।

बजारमा आज होटेल तथा पर्यटन, निर्जीवन बिमा र म्युचुअल फन्डबाहेक सबै उपसूचकमा गिरावट भएको छ । बजार परिसूचकसँगै कारोबार रकम पनि ओरालो लागेको छ । आइतबार पाँच अर्बनजिक पुगेको कारोबार रकम मंगलबार पनि तीन अर्ब नाघेको थियो । तर, बुधबार बजारमा कारोबार रकम घटेर दुई अर्ब ५७ करोडमा झरेको छ ।

मंगलबार २० प्रतिशत बोनस सेयरसहित ४० प्रतिशत लाभांश घोषणा गरेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को सेयर मूल्य भने ओरालो लागेको छ । तर, मंगलबार पनि सर्वाधिक कारोबार भएको कम्पनीको आज पनि सबैभन्दा धेरै १६ करोड ३६ लाखको कारोबार भएको छ ।

यस्तै, गरिमा विकास बैंकको १२ करोड २४ लाखको सेयर कारोबार भएको छ । आज दिनभर बजारमा १९३ कम्पनीको सेयर कारोबार भएकामा १३५ कम्पनीको  सेयर मूल्यमा गिरावट हुँदा १० कम्पनीको सेयर मूल्य स्थिर छ । ४९ कम्पनीको सेयर मूल्य बढेको छ । आज कारोबार भएका मध्ये इमर्जिङ नेपालको सेयर मूल्य बढेर सर्किट  लेभलमा बन्द भएको छ ।

युनाइटेड इदी मार्दी एन्ड आरबी कम्पनीको सेयर मूल्यमा ४.९२ प्रतिशतले गिरावट हुँदा नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य ३.५७ प्रतिशतले घटेको छ । मंगलबार पनि दूरसञ्चार कम्पनीको सेयर मूल्य सर्वाधिक घटेको थियो ।