काठमाण्डौं । यातायात व्यवसायीले आगामी चैत्र ७ गतेसम्म सरकारले सार्वजनिक यातायातको भाडा समायोजन नगरे एकतर्फीरुपमा भाडा बढाउने चेतावनी दिएका छन् ।

पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गर्दै चेतावनी दिएका हुन् । विगतमा डिजेलको मूल्य १ सय ४ हुँदा समायोजन भएको भाडा १सय ३३ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको व्यवसायीको गुनासो छ ।

बजारमा हरेक वस्तुको मूल्य बढ्दै गएकोे समयमा वैज्ञानिक भाडा समायोजन आजको आवश्यकता भएको व्यवसायीहरुको भनाइ छ । गत असार २७ गते समायोजन भएको भाडादर पर्यटक बोक्ने सवारी साधनको हकमा समायोजन नभएकाले त्यसमा पनि वैज्ञानिक भाडादर समायोजन गर्न माग गरिएको थियो ।