काठमाण्डौं । श्रीलंका भ्रमणमा रहेको नेपाली टोली आज अन्तिम अभ्यास खेलमा श्रीलंका संयुक्त–११ सँग पराजित भएको छ ।

श्रीलंकाका स्टार खेलाडी सम्मीलित श्रीलंका संयुक्त–११ विरुद्ध नेपाल ९२ रनले पराजित भएको हो । २ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर २ बलमा १ सय ४० रन बनाउदै अल आउट भयो । नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाएका थिए । श्रीलंका संयुक्त–११ का एस दक्सिनाले ३ तथा दिलसान मुनविराले २ विकेट हात पारेका थिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंका संयुक्त–११ ले ४८ ओभर २ बलमा २ सय ३२ रन बनाएको थियो । यसअघि नेपालले खेलेको तीन अभ्यास खेलमा सहज जित हात पारेको थियो । नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गतको सिरिजको लागि तयारी स्वरुप श्रीलंका भ्रमण गरेको हो । सिरिज खेल्न नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छन् । नेपालले लिग २ अन्तर्गतको आफ्नो तेस्रो सिरिजमा युएई र पपुवा न्यू गिनी पीएनजी विरुद्ध खेल्नेछ ।००००