काठमाण्डौं । मुस्ताङको मानापाथी हिमालबाट पुनः हिमपहिरो खसेको छ ।
गत कार्तिकको तेश्रो साता पनि उक्त हिमपहिरो खस्दा भागदौड मच्चिएको थियो । तीन महिना नकट्दै पुनः सोही ठाउँमा हिमपहिरो खसेको हो । हिमपहिरोका कारण चौँरीगोठ पुरिएको स्थानीयले बताएका छन् । हिमालको फेदमा रहेको सुशिला गौचन र नरप्रसाद गौचनको चौँरीगोठमा रहेका १५ चौँरी हिमपहिरोमा पुरिएर मरेको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयले भने ७ वटा चौरी मरेको र अरु हराएको जनाएको छ । १४ वटा चौँरी भने जिउँदै भेटिएको स्थानीयले बताएका छन । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले घटनाबारे खोजबिन भैरहेको जानकारी दिनुभयो । जलवायु परिवर्तनको असरले मुस्ताङको तापक्रम दैनिक बढ्दै गएकोले हिमालमा क्षति पुगेको उहाँले बताउनुभयो ।००००

