काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा जेठको दोस्रो हप्तादेखि सञ्चालन गर्ने तयारी गरेको छ ।

आगामी शैक्षिक सत्र असर नपर्ने गरी जेठको दोस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । बोर्डले छिट्टै परीक्षाको समय तालिका सार्वजनिक गर्ने जनाएको छ । बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र भने अनलाइनबाटनै पठाउने तयारी गरेको छ । कोभिड–१९ को कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र अनलाइनमार्फत् पठाउन थालिएको हो ।

गत वर्ष अनलाइनबाट प्रश्नपत्र पठाउँदा भएको समस्या सुधार्दै प्रश्न पत्र पठाउने तयारी गरेको बोर्डले जनाएको छ । विगतका वर्षहरूमा जस्तै परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन हुने बोर्डका अध्यक्ष शर्माले जानकारी दिनुभयो । परीक्षा केन्द्र तोक्दा सकेसम्म विद्यार्थी डेरामा बसेर परिक्षा दिनुपर्ने अवस्था आउन नदिने उहँको भनाई थियो । यस वर्षको कक्षा १२ को परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।