काठमाडौं। आज ग्याल्पो ल्होसार । शेर्पा लगायत हिमाली क्षेत्रका बौद्ध समुदायले धुमधामकासाथ मनाउदै छन । 

सरकारले ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ। सरकारी कार्यालयदेखि संघसंस्थाका सेवा आज बन्द रहनेछन्। नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ। ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो। ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम गरी मनाइन्छ।

भोट–बर्मेली भाषाहरूको शाब्दिक अर्थमा ‘लो’ वा ‘ल्हो’ भनेको वर्ष र सार भनेको नयाँ हो। व्यवहारमा पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागतार्थ मनाइने पर्वलाई लोसार वा ल्होसार भन्ने गरिन्छ। खासगरी नेपालको उत्तरी भेगमा बसोबास गर्ने शेर्पा, ह्योल्मो, गुरुङ, तामाङ तथा टिबेटियनलगायत बौद्ध धर्म मान्ने समुदायले लोसार पर्व मनाउने गर्दछन्। तोल, सोनाम र ग्याल्पो गरी तीन सम्प्रदायका लोसार पुसदेखि फागुनभित्र मनाउने गरिन्छ।

ग्याल्पो लोसार मुख्य रूपले नेपाल, तिब्बत, सिक्किम र भुटानका शेर्पा, लामा तथा भोटे समुदायले मनाउने पर्व हो। ‘ग्याल्पो’ भनेको राजा हो। यो पर्व शासक वर्ग वा राजाहरूले मानेको इतिहास पाइन्छ। लोसारको दुई दिनअघि आफूलाई पायक पर्ने गुम्बामा गई गए सालको ग्रहदशा आउने सालमा नलागोस् भन्ने कामनाले ग्रहशान्ति तथा विसर्जनका लागि ‘ङिस्युगु पूजा’ गर्नुपर्दछ। यो पूजा गरेपछि गुम्बाहरूमा पनि लोसारको छुट्टी दिने गरिन्छ। ग्याल्पो लोसार मनाउने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा आरोग्य, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

यसैबीच, आज ग्याल्पो ल्होसारको अवसरमा देशका उच्च पदस्त ब्यक्तिहरुद्धारा शुभकामना ब्यक्त गरेका छन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामथ्र्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताएकी छन्। शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले आज दिनुभएको शुभकामना सन्देशमा यस्ता पर्वका माध्यमबाट सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि भई हाम्रो बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन सघाउ पुग्ने बताएकी छन्।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष २१४९ क्षु–फो–ताक्लोका उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन्। ग्याल्बो ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएका छन्। उनले शुभकामना सन्देशमार्फत नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै यहाँ हरेक जातजातिका आआफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको बताएका छन्।

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन् । महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार–२१४९ का अवसरमा आज शुभकामना दिँदै उनले ग्याल्पो ल्होसारले नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा व्यक्त गरेका छन् ।