काठमाण्डौ। वैदेशिक रोजगारीमा गएकाहरुलाई साधारण सेयर आईपीओमा कोटा छुट्याइने भएको छ ।
वैधानिक च्यानलबाट रेमिट्यान्स पठाउनेहरुका लागि कार्यविधि बनाएर कोटा दिन लागिएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायतका उच्च सरकारी अधिकृतबीच रेमिट्यान्सलाई प्रोत्साहन गर्न ५ प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा जानेहरुका लागि अनिवार्य गर्ने सहमति भएको हो ।
जसअनुसार अब हरेक आईपीओमा वैदेशिक रोजगारीमा गएकाहरुलाई कोटा छुट्याइनेछ । पछिल्लो समय सर्वसाधारणको आईपीओमा निकै आकर्षण बढ्दो छ । माग भन्दा ७० गुणासम्म बढी आवेदन आईपीओमा पर्ने गरेको छ । यस्तो अवस्थामा आवेदन दिने न्यूनले मात्रै आईपीओ पाउने गरेका छन् ।
पछिल्लो समय हुण्डिबाट रकम पठाउने बढेको र कतिपयले भर्चुअल मुद्रामा समेत लगानी गरेका कारण रेमिट्यान्स घटेको राष्ट्र बैंकको निष्कर्श छ । आईपीओमा कोटा छुट्याएपछि हुण्डि र भर्चुअल मुद्रामा हुने लगानी निरुत्साहित हुने भन्दै यस्तो निणर्य गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।००००