भारत सँग जीटूजीमा रासायनिक मल खरिद सम्झौता नभए यो वर्ष पनि मलको अभाव हुने सम्भाबना बढेको छ । आफ्नो कार्यकालको एक सय दिनमा भएको प्रगतिबारे जानकारी दिन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले यस्तो धारणा राखेका हुन् ।
यो वर्ष २ लाख ६४ हजार मेट्रिकटन मल खरिदको लक्ष्य भए पनि एक लाख ६ हजार मेट्रिकटन मात्रै मल आपूर्ति गरिएको र बाँकी माग धान्न भारतससँग जीटूजी नै आवश्यक भएको मन्त्री यादवले बताए । मल खरिदसम्बन्धी वर्तमान खरिदको टेण्डर प्रक्रिया फेल भइसकेको भन्दै उनले अब जीटूजीको विकल्प नभएको बताएका छन ।
मल खरिदको ठेक्का प्रक्रिया फेल भइसक्यो, जीटुजी गरेर पेट्रोलियम जस्तो गरी मल खरिद गरिएन भने मल अभाव हट्दैन, मन्त्री यादवले भने । मल खरिदका लागि प्रक्रिया थाल्दा थाल्दै अन्तर्राष्ट्रिय बजारमा मूल्य आकासिने र ठेकदारले ल्याउनै नसक्ने अवस्था बनेको मन्त्री यादवको भनाइ छ ।
विभिन्न मुलुकसँग वार्ता भए पनि भारतसँग मात्रै जीटूजीको प्रक्रियाले गति लिएको भन्दै उनले छिट्टै यसले मूर्त रुप लिन सक्ने बताएका छन । जीटूजी भए वार्षिक एक लाख ५० हजार मेट्रिकटनका दरले पाँच वर्षसम्म रासायनिक मल आयातको बाटो खुल्ने उनको भनाइ छ । यो आर्थिक वर्ष अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण लक्षित परिमाणअनुसार मल खरिद गर्न नसकेको मन्त्रालयको प्रष्टोक्ति छ ।