काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
२००७ साल फागुन ७ गते आजकै दिन एक सय चार वर्ष लामो राणा शासन अन्त भएको थियो । प्रजातन्त्र स्थापनाका लागि चार सहिद दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ सालमा बलिदानी दिएका थिए । उनीहरुलाई राणा शासनविरुद्ध षड्यन्त्रको आरोपमा मृत्युदण्ड दिइएको थियो ।
राणा शासन अन्तका लागि राजा त्रिभुवनले विशेष भूमिका खेलेका थिए । राणाहरुविरुद्ध नेपाली काँग्रेसले संघर्ष गरेको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक प्रणालीले मात्र नागरिकलाई एकताको मालामा गाँसेर बलियो राष्ट्र निर्माण गर्ने बताएकी छन् । उनले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा राष्ट्रपतिले जहानियाँ निरङ्कुश शासनविरुद्ध बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप २००७ सालको आन्दोलन सफल भएर आधारभूत मानवअधिकारको बहाली गराई नेपाली जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ गते हामी प्रजातन्त्र दिवस मनाउँछौँ भन्दै त्यसपछिको सात दशकभन्दा लामो उतारचढावपूर्ण यात्रामा नेपाली जनताको निरन्तर सङ्घर्षकै प्रतिफलस्वरूप आज हामी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको उल्लेख गरेकी छन्।
७२औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको उल्लेख गरेका छन् । २००७ सालको क्रान्त्रिको जगमा उभिएर नै आज सबैले स्वतन्त्रता र आत्म सम्मानका साथ बाँच्न पाइरहेको, नागरिक हकअधिकारको उपभोग गर्न पाएको तथा राज्यको सबै तह र संरचनामा आम नागरिकको पहुँच स्थापित हुन सकेको बताएका छन् । यसलाई अब सबैले थप सबल र सुदृढ तुल्याउन आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।
यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले पनि प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिंदै जिम्मेवार निकायबाट लोकतान्त्रिक अभ्यासको व्यवहारिक पुष्टि भए मात्र जनस्तरमा यसप्रति गहिरो विश्वास पैदा हुने बताएका छन् ।

