काठमाण्डौं । आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमानलाई साढे तीन वर्ष कैद सजाय सुनाइएको छ ।

बैवाहिक बलात्कारका आरोपित एक व्यक्तिलाई उच्च अदालत दिपायलले तीन बर्ष ६ महिना कैद सजाय सुनाएको हो । गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई बलात्कार गरेको अभियोगमा सोमबार उच्च अदालत दिपायलले अछामका २५ वर्षका युवकलाई तीन वर्ष ६ महिना कैदको फैसला गरेको हो । जिल्ला अदालत अछाममा पीडितका साक्षीका रुपमा छिमेकीहरुले जबर्जस्ती करणी भएपछि गुहार मागेको भनी वयान दिएका थिए । तर युवकले भने सहमतिमै यौन सम्पर्क गरेको बयान दिएका थिए ।

०७७ माघ २६ गते जिल्ला अदालत अछामले पीडितले जबर्जस्ती करणी गरेको भन्ने बकपत्र गरे पनि जबर्जस्ती करणीको कसूर स्थापित हुने प्रमाण नरहेको भनी पीडितका श्रीमानलाई सफाइ दिएको थियो । सोमबार उच्च अदालत दिपायलका का.मु.मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतबहादुर थापाको इजलासले जिल्ला अदालतको उक्त फैसला उल्ट्याउँदै गर्भवती श्रीमतीलाई बहुविवाहको उजूरी दिएको रिसको झोंकमा कुटपिट गरी यातना दिई जबरजस्ती करणी गरेको तथ्य जाहेरी दरखास्त, पीडित र साक्षीको बकपत्र एवं शारीरिक परीक्षण लगायतका प्रमाणबाट पुष्टि भएको भन्दै कैदको फैसला गरेको हो ।

विद्यमान कानून अनुसार एउटा कसूर गरी सजाय पाएकोमा कुनै व्यक्तिले पुनः अर्को कसूर गरेमा पछिल्लो पटक गरेको सजायको दोब्बरसम्म थप सजाय हुने भएकोले यस मुद्दामा तीन बर्ष ६ महिना कैद तोकिएको उच्च अदालत दिपायलले जानकारी दिएको छ ।