१ फागुन, जनचासो खबर । रोङमा इलाम साहित्य क्षेत्रमा पढ्न र लेख्न रूचि भएका साहित्यप्रेमी व्यक्तिलाई एकजुट बनाउने र रोङ गाउँपालिकामा साहित्य क्षेत्रलाई अगाडि बढाउने उद्देश्यले वि.सं.२०७६ सालमा गठित उन्मुक्त साहित्य संगमले रोङ गाउँपालिका वडा नम्बर ३ कुटीडाँडामा सामुदायिक पुस्तकालय स्थापना गरेको छ ।
२०७६ सालमा स्थापना भएको सो समूहले २०७८-०३-०८ गतेबाट गाउँपालिका मार्फत दर्ता पाएको उक्त समूहमा गाउँपालिकाको सबै वडा समेट्ने योजना भएको तर वडा नम्बर ३,४ र ६ नम्बरका मात्र ११ सदस्यीय समूह रहेको समूहको अध्यक्ष मिलन राईले बताए ।
स्थापना भए देखि नै हामीलाई विभिन्न व्यक्तित्व र संघसंस्था तथा स्थानीय सरकारले सहयोग गरेको पनि राईले जानकारी दिए । रोङ गाउँपालिका, रोङ गाउँपालिका वडा नम्बर ३ र पाथिभरा मन्दिर तथा देशविदेशमा रहनुभएका विभिन्न व्यक्तिहरूले पुस्तकालय सञ्चालन गर्न आर्थिक तथा पुस्तक सहयोग गरेको सचिव ऋजन मायालु दिनेश राई बताउँछ ।
पछिल्लो समय गाउँपालिकाले पुस्तकालय सञ्चालन गर्न एक लाख रकम सहयोग गरेको उनलेे बताए । समूहमा रहेका सदस्यहरू आफै लेखक रहेका छन् सचिव दिनेश राई ऋजन मायालुको हिमालका चुचुरो र स्वास्नीमान्छे कविता सङ्ग्रह, उज्यालोका मालीहरू कविता सङ्ग्रहमा १० उत्कृष्ट कविता प्रकाशित छ भने कोषाध्यक्ष सुबास बाङदेल राईको केटो मान्दैन कथा सङ्ग्रह प्रकाशित छ । अन्य सदस्य पनि कविता, गजल, मुक्तक लेख्ने गर्छन् ।
उक्त समूहले रोङ ३ को कुटीडाँडा स्थित पाथिभरा मन्दिरको अतिथि भवन नजिक एउटा घर भाडामा लिएर पुस्तकालय सञ्चालन सुरु गरेको छ । पुस्तकालयको छुट्टै आफ्नै भवन भए हामीलाई सहज हुने थियो उपाध्यक्ष सञ्जीव नाछिरिङ बताउँछन् । आजको प्रविधिको जमानामा पुस्तकालयमा पुस्तक पढ्न नआए पनि एउटा पुस्तक संग्रहालयको रूपमा स्थापना हुने उनको भनाइ छ । अध्यक्ष राईले भने यो पुस्तकालय सञ्चालन गर्न सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा स्थानीय सरकार, जनप्रतिनिधिलाई समूहको तर्फबाट आभार प्रकट गर्दैछौं र यस्तै सहयोगको अपेक्षा पनि गर्छौं ।