सिन्धुलीमाढी। सिन्धुलीको कमलामाई नगरपालिकाभित्रका ६ वटा सामुदायिक विद्यालयले स्कुल बस पाएका छन्। बागमती प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले नगरको ६ वटा विद्यालयलाई बस उपलब्ध गराएको हो। 

कमलामाई नगरपालिका वडा नं. ४ मा रहेको कमला मा.वि. ढुङ्ग्रेबास, वडा नं. ५ सिलामेमा रहेको जनज्योती मा.वि. र फोस्रेटारमा रहेको जनज्योती मा.वि., वडा नं. ६ मा रहेको गौमति मा.वि., वडा नं. ७ मा रहेको कालिका मा.वि. पल्लो रामपुर, र गडौली मा.वि.ले प्राप्त बस सञ्चालन गर्ने भएको हो। 

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पठाएको स्कुल बस मङ्गलबार नगरपालिकामा आयोजित एक कार्यक्रमबीच कमलामाइ नगरपालिकाका नगर प्रमुख खड्ग खत्रीले ति विद्यालयहरूलाई हस्तान्तरण गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खत्रीले विद्यार्थी सङ्ख्या कम भएका विद्यालयहरूलाई अन्य विद्यालयसँग गाभेकाले मन्त्रालयले स्कुल बस उपलब्ध गराएको बताए।

कमलामाई नगरपालिकाका शिक्षा शाखा प्रमुख शंकरराज लुइँटेलका अनुसार नगरपालिकाले पाँच वर्षमा धेरै विद्यालयलाई गाभेको छ। त्यसरी गाभिएका विद्यालयहरूलाई मन्त्रालयले २५ लाख अनुदान रकम पठाउने भनेपनि मन्त्रालयले विद्यालयको माग अनुसार स्कुल बस पठाएको हो बताए। 

नगरभित्रकै गाभिएका अन्य दुई विद्यालयले आइटी ल्याब र डिजिटललाइब्रेरी पाएका छन्। कमलामाई नगरपालिका वडा नं. २ निवाटरको जनजागृति माविले २५ लाख र वडा नं. ९ मा रहेको जनजागृति मावि भिमानले २५-२५ लाख बजेट आइसिटी ल्याबको लागि पाएको छ। नगरपालिका भित्रका १ सय ७ विद्यालयलाई गाभ्नै पर्ने अवस्थाका विद्यालयहरू पहिचान गरेर २३ विद्यालयलाई ठूला विद्यालयसँग गाभि अहिले ८४ विद्यालय कायम गरिएको नगर प्रमुख खत्रीले बताए।