सर्मीला सुनुवार, रामेछाप । लैङ्गिक हिंसाविरुद्धको कार्यक्रमलाई थप प्रभावकारी ढंगले सञ्चालन गर्न स्थानीय नागरिकहरुले सुझाव दिएका छन् । शुक्रबार मन्थलीमा आयोजित लैङ्गिक हिंसाविरुद्धको १६ दिवसिय अभियानको समिक्षा कार्यक्रममा अधिकांश सहभागिहरुले यस्तो माग गरेका हुन् ।
एडभोकेसी फोरम नेपालको आयोजना तथा शान्तिको लागि साझा अभियानको सहयोगमा सञ्चालित कार्यक्रममा फोरमका जिल्ला संयोजक पाण्डव प्रसाइले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा मन्थली नगरपालिकाका कानुनी सल्लाहकार सुदर्शन रायले नगरपालिकाद्धारा हालै सम्पन्न १६ दिवसिय अभियानको बारेमा चर्चा गर्नु भएको थियो ।
गैर सरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष रत्न कंडेलले विगतको द्धन्द्धको समिक्षा गर्दै लैगिंक हिंसासँग जोडिएका विषयहरुमा थप प्रभावकारीताको आवश्यकता रहेको बताउनु भयो । उहाँले गैर सरकारी संस्थाले सुरुवात गरेका कतिपय अभियानहरु सरकारी पक्षबाट निरन्तरता दिन नसक्नु यसको कमजोरी रहेकोे बताउनु भयो ।
नेपाल बार एशोसियशन रामेछापका अध्यक्ष विचार सिंङ दोङले लैङ्गिक हिंसा विरुद्धको अभियान बारे मिडियामार्फत सुचना प्रचारप्रसारमा जोड दिनु पर्ने बताउनु भयो । कतिपय शहर केन्द्रित कार्यक्रमहरु लक्षित समुदायसम्म पुग्न नसक्नु दुर्भाग्य भएको चर्चा गर्नु भयो । कार्यक्रममा सहभागिहरुले यस्ता खालका अभियानहरु दिप प्रज्वलन तथा चोक चोकमा र्यालीको आयोेजना गरेर मात्र सफल नहुने विचारहरु प्रस्तुत गरेका थिए ।

