काठमाण्डौ । कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले १ फागुनबाट विद्यालय खोल्न सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ।
सीसीएमसीको आइतबार बसेको बैठकले भौतिक रूपमा पठनपाठन गर्ने गराउने गरी विद्यालय खोल्न सिफारिश गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले बताए। “कोभिड–१९ को सङ्क्रमण कम भएकाले अब भौतिक रूपमा पठनपाठन गर्न सकिने निष्कर्ष निकालिएको छ,” डा. पोखरेलले भने।
कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि १ माघदेखि विद्यालय बन्द गरिएको थियो। अहिले कोरोना सङ्क्रमण कम हुँदै गएको सीसीएमसीको ठहर छ। सङ्क्रमण कम हुँदै गएपछि केही स्थानीय तहले विद्यालय सञ्चालन गर्न शुरू गरेका छन्। शिक्षा क्षेत्रका सरोकारवालाले पनि विद्यालय खोल्न आग्रह गर्दै आएका छन्।
यस्तै, काठमाडौं उपत्यकाभित्र यातायातमा लागु गरिएको जोर-बिजोर प्रणलिलाई हटाउन सिसीएमसीले सिफारिस गरेको छ। कोरोना संक्रमणदर घट्दै गएको भन्दै कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसी) को आज बसेको बैठकले जोर-बिजोर हटाउन सिफारिस गरेको हो। कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट सहितको संक्रमण तीव्र गतिमा बढेसँगै यसअघि काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर, ललितपुर) का प्रमुख जिल्ला अधिकारीको बैठकले जोरबिजोर प्रणाली लागू गर्ने आदेश दिएको थियो ।
अहिले निजी सवारी साधन र ट्याक्सीहरूमा जोर-बिजोर प्रणाली लागु थियो। आफूले ट्याक्सीलगायत सवारीमा रहेको जोर-बिजोर प्रणाली हटाउन सरकारसँग पटक(पटक आग्रह गरेको राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए।
जोर(बिजोर प्रणाली हटे मानिसहरुलाई आवागमनमा सहज हुने विश्वास सिटौलाले व्यक्त गरे। साथै फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय पनि भएको छ। माघभर विद्यालय बन्द गरिएको थियो। माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए। रात्रिकालीन व्यवसाय र खेलकूद पनि सञ्चालन गर्न सहज बनाउने सिफारिस भएको स्रोतले जनाएको छ।