एजेन्सी । फिफाले फुटबलमा नयाँ प्रविधि अर्थात ‘रोबोट रेफ्री’ लाई प्रयोगमा ल्याउने भएको छ ।
प्रविधिको विकाससँगै खेलकुदमा पनि नयाँ नयाँ प्रविधिको प्रयोग हुँदै गइरहेको छ । यसै सन्दर्भमा खेल अवधिमा मानविय त्रुटी कम गर्न विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस अघि नै भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रयोगमा ल्याइ सकेको छ । फिफाले खेल अवधिमा हुने अफसाइड सम्बन्धी विवाद कम गर्न भीएआरको सहयोगिका रुपमा थप नयाँ प्रविधि ‘रोबोट रेफ्री’ प्रयोगमा ल्याउने भएको छ ।
‘रोबोट रेफ्री’ अर्थात आर्टिफिसियल इन्टलिजेन्स (एआई) र अफसाइड लक्षित क्यामेराको सहायताले निर्णय लिनसक्ने नयाँ प्रविधि प्रयोगमा ल्याउन लागेको हो । यसले असाइडको निर्णय भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)मा पठाउने काम गर्छ ।
‘रोबोट रेफ्री’को प्रयोग फिफा अरब कपमा सफलतापूर्वक गरिसकेको जनाएको छ । अब हुने फिफा क्लब विश्वकपमा यो प्रविधिको पुन: प्रयोग गरिने जनाइएको छ ।
यससँगै ‘रोबोट रेफ्री’को प्रयोग सफल भए कतारमा हुने फिफा विश्वकपमा पनि यो प्रविधि प्रयोग हुने जनाइएको छ ।
यो प्रविधिको विकाससँगै प्रशिक्षक, खेलाडी र क्लबलाई खेल विश्लेषण गर्न थप सहयोग पुग्ने फिफाले जनाएको छ ।