विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारी शुरु भएयता समय-समयमा विभिन्न भेरियन्टहरू देखा परे र देखिने क्रम पनि जारी छ। कोभिड महामारीसँग बच्न, यसको रोकथाम र न्यूनिकरण गर्न संघ, प्रदेश र स्थानीय तहमा विभिन्न प्रयासरहरू भएका छन्। यसै सन्दर्भमा आज काभ्रेपलाञ्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसँग हामीले काभ्रेपलाञ्चोक जिल्लामा कोभिड महामारी रोकथाम, नियन्त्रण,  उपचार तथा निदान र सार्वजनिक सेवा प्रवाह व्यवस्थापनमा के कस्ता प्रयासहरू भई रहेका छन् भन्ने विषयमा सोधेका थियौँ। प्रस्तुत छ: सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारसँग गरिएको कुराकानी जस्ताको त्यस्तै:

काभ्रेपलाञ्चोकमा कोभिड १९ संक्रमण स्थिति:

विश्वव्यापी महामारीको स्वरुपमा फैलिएको ओमिक्रोन भेरियन्ट सहितको कोभिड-१९ को संक्रमणको तेस्रो लहर नेपालमा उच्च विन्दुमा पुगेको प्रक्षेपण गरिएको छ। नेपालमा हालसम्म कोभिड १९ संक्रमणका कारण ११ हजार ७७८ जनाको मृत्यु भइसकेको छ । काभ्रेपलाञ्चोकमा अल्फा भेरियन्टको कोभिड १९ महामारीको पहिलो लहरमा संक्रमणबाट ३ हजार ३७२ जना संक्रमित भएका मध्ये ४४ जनाको दु:खद निधन भयो भने डेल्टा भेरियन्ट सहितको दोस्रो लहरमा ११ हजार ४७६ जना संक्रमितहरुमध्ये ३ हजार २०७ जना अस्पताल भर्ना हुनुपर्यो र संक्रमितहरुमध्ये १४९ जनाले ज्यान गुमाउनु पर्यो। कोभिड १९ को पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमणदर, संक्रमणको असर तथा मृत्युदर बढी रहेको देखिन्छ। कोभिड १९ दोस्रो लहरमा संक्रमितहरुको अस्पताल भर्नादर अत्याधिक भई ३ हजार २०७ जना अस्पताल भर्ना हुनुपर्यो जसले गर्दा अस्पतालमा भेन्टिलेटर, आई सी यू सहित साधारण बेडहरुको समेत अभाव भयो । यस्तो बिषम परिस्थितिमा अस्पतालहरुका अलवा सबै नगरपालिका तथा गाँउपालिकारुले आफू माताहतका स्वास्थ्य शाखाको समन्वयमा अक्सिजन सहितको संस्थागत आइसोलेसन सेन्टर सञ्चालन गरी उपचार कार्यलाई सहयोग गरेका थिए । यस लहरमा अस्पतालमा कोभिड संक्रमितहरुको उपचारका लागि केही समय अक्सिजनको अभाव समेत सामना गर्नुपर्यो ।

तस्विर: जिल्ला स्थित कोभिड -१९ विरुद्धको खोप कार्यक्रम अनुगमन गर्दै।

यस जिल्लामा ओमिक्रोन सहितको हालको कोभिड १९ को तेस्रो लहरमा २ हजार ४१० जना संक्रमितहरु मध्ये २ जनाको मृत्यु भएको छ । कोभिड १९ संक्रमणको तेस्रो लहरमा तुलनात्मकरुपमा उच्च संक्रमणदर भएपनि संक्रमितहरुको अस्पताल भर्नादर न्यून रहेको तथा स्वासप्रश्वासमा कम असर देखिएकोले हालसम्म उपचारकालागि बेड तथा अक्सिजन लगायत स्वास्थ्य सामग्रीहरुमा चाप परेको छैन । जिल्लामा कोभिड १९ महामारीले ल्याएको स्वास्थ्य संकटको प्रतिकार्य (Response) प्रभावकारी बनाउन जिल्लामा सम्पूर्ण निकाय तथा संयन्त्रहरु परिचालित हुदै आएका छन । यस जिल्लामा विगतमा कोभिड १९ संक्रमणको पहिलो र दोस्रो लहरको प्रतिकार्यको अनुभव तथा सिकाईलाई मध्येनजरगरी कोभिड १९ रोकथाम,  नियन्त्रण, उपचार तथा निदानका सम्पूर्ण कार्यलाई सुव्यवस्थित एवं प्रभावकारी बनाउन स्थानीय प्रशासनको नेतृत्वमा जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र र स्थानीय सरकारहरुको तर्फबाट लिइएको प्रमुख पहल तथा प्रयासहरुलाई संक्षिप्त रुपमा यसरी प्रस्तुत गरिएको छ।

रोकथाम तथा नियन्त्रण:

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकारबाट मिति २०७८ पुष ३० गते जारी भएको ३६ बुँदे आदेशलाई प्रभावकारी कार्यान्वयन गर्न सम्पुर्ण सरोकारवाला संयन्त्र तथा निकायसँग शिघ्रातिशिघ्र समन्वय, सहकार्य र साझेदारी गर्ने कार्य गरिएको छ । जिल्लामा कोभिड १९ रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखी जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी आवस्यक निर्णय तथा समन्वय गरिएको छ । यस बैठकमा विशेषगरी स्थानीय सरकारको पूर्वतयारी एवं आगामी कार्ययोजना सहित जिल्लास्तरमा गर्नुपर्ने कार्यका सम्बन्धमा सल्लाह सुझाब समेत  लिईयो । जिल्ला संकट ब्यवस्थापन केन्द्रलाई सक्रिय बनाई जिल्लामा कोभिड १९ संक्रमण रोकथाम तथा उपचारलाई नतिजामुखी बनाइएको छ ।

तस्विर: अन्तर जिल्ला समन्वय बैठक बस्दै

तस्विर:जिल्ला स्थित कार्यालय प्रमुखहरूको बैठक बस्दै।

कोभिड १९ संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न कोभिड १९ बिरुद्दको खोप कार्यक्रमलाई अभियानकोरुपमा प्राथमिकताका साथ सञ्चालन गरिएको छ । हालसम्म १८ वर्ष भन्दा माथिका नागरिकहरुमध्ये पहिलो मात्रा ८० प्रतिशत नाघिसकेको छ भने पहिलो मात्रा खोप लगाइसकेकामध्ये ९५ प्रतिशत ले दोस्रो मात्रा खोप समेत लगाईसकेका छन । अहिले जिल्लाभर स्वास्थ्य कार्यालय काभ्रपलाञ्चोकको नेतृत्वमा स्थानीय स्वास्थ्य शाखाहरुको सहयोगमा बुस्टर डोज समेत लगाउने कार्यमा तिब्रता दिइएको छ । साथै १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुको लागि पनि खोप कार्यक्रमलाई बिद्यालयहरु आक्रमकरुपमा अघि बढाइएको छ । स्थानीय प्रशासनले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको आदेशको कार्यान्वयनमा सुरक्षाकर्मीहरु सघन रुपमा परिचालित भएका छन् ।

तस्विर: जिल्ला बजार अनुगमन समितिको बैठक बस्दै

नेपाल सरकारद्वारा जारी ३६ बुँदे आदेशको कार्यन्वयन तथा परिपालनालाई सुनिश्चित गर्न सार्वजनिक यातायात व्यवसायी र होटल व्यावसायीसँग अलग अलग छलफल गरी आवश्यक समन्वय गरिएको छ । सार्वजनिक यातायात साधनहरुमा सिट क्षमतानुसार मात्र यात्रु सङ्ख्या रहनेगरी मास्क स्यानिटाइजर र निसङ्क्रमण कार्यलाई कडाईका साथ कार्यान्वयन गरिएको छ । यसका लागि स्थलगत अनुगमन गरी मापदण्ड पालना नगर्नेलाई कारवाही स्वरुप जरिवाना समेत गरिएको छ । यस जिल्ला अरनिको राजमार्ग र बीपी राजमार्ग सहितको राजधानी प्रवेशविन्दु (साँगा नाका) रहेको रणनीतिक अवस्थितीका कारण राजधानीका जिल्लासित अन्तर समन्वय गरिएको छ । यस जिल्ला प्रवेशका मुख्य नाका साँगा मंगलटार र दोलालघाट क्षेत्रमा एन्टिजिन परीक्षण बुथ सञ्चालनमा ल्याइएको छ ।

कोभिड १९ विरुद्धको खोप कार्यक्रम अनुगमन गर्दै

उपचार तथा निदान:

काभ्रेपलाञ्चोक जिल्लामा पनि कोभिड १९ तेस्रो लहर समुदाय तहमा तिब्ररुपमा बढीरहेको सन्दर्भमा जिल्लालाई कोभिड १९ संक्रमण उत्थानशील जिल्ला बनाउन एकिकृत कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गरिएको छ । कोभिड १९ को परीक्षणबाट संक्रमणदर करिब ५०प्रतिशत सम्म पुगेको देखिन्छ ।  यसले कोभिड १९ संक्रमण समुदायहरुमा डढेलोको गति सल्किएको भएपनि अस्पताल भर्नादर र मृत्युदर न्यून भएकोले होमआइसोलेसनमा नै उपचारमा रहेका  देखिन्छ । यद्यपी संक्रमितहरुको उपचारलाई प्रभावकारी बनाउन जिल्लामा कोभिड १९ डेडिकेटेड अस्पताल तथा आइसोलेशन केन्द्रहरुको पहिचान गरि आवश्यक पूर्वतयारी गरिएको छ । साथै होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई चिकित्सकबाट परामर्श हुने व्यवस्थालाई कार्यान्वयनमा ल्याइएको छ ।

तस्विर: सार्वजनिक यातायात तथा स्थलमा जनस्वास्थ्य मापदण्ड पालनाको अनुगमन

यसका लागि विशेषगरी धुलिखेल अस्पताल, शीर मेमोरियल अस्पताल र मेथिनकोट अस्पताल लगायत अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग समन्वय तथा सहकार्य गरिएको छ । जिल्लाका अधिकांश अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गरिएको छ भने पर्याप्तमात्रामा अक्सिजन कन्सन्ट्रेटर तथा अक्सिजन सिलिण्डर व्यवस्थापन गरिएको छ । विषेश गरि समुदायस्तरमा फैलिएर महामारीको उपचार तथा निदानका लागि स्थानीय स्वास्थ्य शाखाहरु अग्रपङ्तिमा खटिएका छन । तेस्रो लहरमा संक्रमितहरुको उपचारकालागि आवश्यक पारासिटामोल लगायतका औषधी बजारमा अभाव हुन नदिन जिल्लास्थित औषधी उत्पादक, वितरक तथा औषधी पसलहरुको अनुगमन गरी आवस्यक आपूर्ति व्यवस्थापनमा समेत समन्वय तथा सहजिकरण गरिएको छ ।

तस्विर: जिल्ला स्थित औषधी उत्पादक क्युरेक्स फर्मासिटीकल्सको अनुगमन

सेवा प्रवाह कार्ययोजना:

काभ्रेपलाञ्चोक जिल्लामा कोभिड १९ को तेस्रो लहरको रोकथाम, नियन्त्रण, उपचार तथा निदान सम्बन्धी कार्यलाई एकिकृत र व्यवस्थित गरी नागरिकहरुको जीवन रक्षा गर्दै सबै सार्वजनिक निकायहरुको सेवा प्रवाहलाई प्रभावकारी बनाउन कोभिड १९ रोकथाम, नियन्त्रण, उपचार तथा निदान कार्ययोजना २०७८ तर्जुमा गरी कार्यान्वयन गरिएको छ । जिल्लास्थित सम्पुर्ण सार्वजनिक निकायहरुमा आफ्ना फ्रन्टलाइनकर्मी कर्मचारीहरुलाई कोभिड बिरुद्दको बुस्टर डोज लगाइसकिएको छ । प्रत्येक कार्यालयले कर्मचारीहरुको कोभिड १९ संक्रमण परीक्षण गरी आवश्यकतानुसार आलोपालो प्रणाली निर्धारण गरी जनस्वास्थ्यका प्रचलित मापदण्डहरु (मास्क, सामाजिक दुरी, स्यानिटाइज) पुर्णपालना गरी सेवा प्रवाह गर्ने ब्यवस्था गरीएको छ । कार्यालयमा कार्यरत कर्मचारीहरुमा संक्रमण देखिएमा स्थानीय प्रशासन तथा जिल्लास्तरीय कोभिड संकट ब्यवस्थापन केन्द्रसँग समन्वय गरी सार्वजनिक निकायहरुको सेवा संकुचन गरी अत्यावश्यक सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ।

तस्विर: औषधी वितरक कम्पनी तथा औषधी पसलहरूमा सिटामोल लगायतका औषधी अनुगमन

नेपाल सरकारको आदेश बमोजिम सेवाग्राहीहरुलाई सेवा प्राप्त गर्नका लागि खोप कार्ड (मोबाइलको फोटो तथा विधुतीय कपी) लिएर आउनुपर्ने व्यवस्था कार्यान्वयन गरिएको छ भने कोभिड १९ को खोप नलगाएका सेवाग्राहीलाई प्राथमिक स्वास्थ्य केन्द्र, धुलिखेलमा खोप लगाउने अनि सेवा प्रदान गरिने ब्यवस्था गरिएको छ । यसका लागि कार्यालय प्रमुखहरुको बैठकबाट एकरुपता कायम गरी अन्तरकार्यालय समन्वयलाई जोड दिइएको छ ।

अन्त्यमा:

काभ्रेपलाञ्चोक जिल्लामा कोभिड १९ को तेस्रो लहरको रोकथाम, नियन्त्रण, उपचार तथा निदानलाई नतिजामुखी बनाउदै कोभिड १९ उत्थानशील काभ्रेपलाञ्चोक बनाई सार्वजनिक निकायहरुको सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्वीकृत कार्ययोजना प्रभावकारी कार्यान्वयन र सोको सघन अनुगमन हुन जरुरी छ । यसका लागि जिल्ला स्थित सम्पुर्ण, निकाय,  संयन्त्र र सरोकारवालाबीच आपसी समन्वय, सहकार्य तथा साझेदारी हुन अपरिहार्य छ ।

तस्विर: पनौती मकर मेला अनुगमन।

यो पनि पढ्नु होस् सामाजिक संरक्षणको अवधारणा र अभ्यास