काठमाडौं । प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाउँदै आएका दुई वटा अस्पतालबाट चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार नक्कली पीसीआर रिपोर्ट बनाउने काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल र भक्तपुको गठ्ठघरमा रहेका नागरिक सामुदायिक अस्पतालका चार जनालाई पक्राउ गरेको हो ।

धनुषा विदेह नगरपालिका–४ रोशनकुमार छिट्टान, काभ्रेपलान्चोक तेमाल गाउँपालिका–७ का माधव मैनाली, धनुषा छिरेश्वर नगरपालिका–१ का नागेन्द्र यादव र सर्लाही बलरा नगरपालिका–७ का प्रसन्नकुमार झालाई प्रहरीले पक्राउ गरेका छन् ।

यी दुई अस्पतालको ल्याबबाट विदेश जानेहरुलाई १० हजार देखि १२ हजार रुपैयाँसम्म लिएर स्वाब परीक्षण नगरी पीसीआर रिपोर्ट बनाउने गरेको प्रहरीले जनाएको छ । महाशाखा प्रहरी अनुसार नागरिक कम्युनिटी अस्पतालका सञ्चालक भावेश मिश्र र कान्तिपुर अस्पताल प्रालिका सञ्चालक निर्मल गिरी फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रवक्ता कोइरालाले बताउनुभयो ।

प्रहरीले दुवै अस्पतालमा छापा मारेर २ सय भन्दा बढी पीसीआर रिपोर्ट र कम्प्युटरलगायतका सामग्र बरामद गरेको छ ।