काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई हराएको छ ।
मंगलबार भएको तनावपूर्ण खेलमा १० खेलाडीमा सिमित नेपालले ९ खेलाडीमा समेटिएको मरिससलाई १-० गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरे । खेलको दशौँ मिनेटमा सुजलले निर्णायक गोल गरेका थिए ।
खेलको ६२ औं मिनेटमा नेपालका मनिष डाँगी गोल गर्न चुके । सुजलको फ्री-किकमा मरिससका डिफेन्डरले राम्ररी क्लियर गर्न नसक्दा सिक्स यार्ड बक्स भित्रबाट उनले बाहिर प्रहार गरे ।
६८ औं मिनेटमा मरिससका कप्तान एन्डीले पेनाल्टी क्षेत्रको एजबाट प्रहार गरेको बल नेपालका गोलकिपर किरणले मुश्किलले बचाए ।
खेलको ७० औं मिनेटमा मरिसस र नेपाल १० खेलाडीमा समेटियो । एक अर्काविरुद्ध घम्साघम्सीमा उत्रिएपछि मरिससका एड्रियन बोटलरले दुई पहेलो कार्डसहित रातो कार्ड पाए । नेपालका पुजन उपरकोटीलाई पनि रातो कार्ड देखाउदै रेफ्री नविन्द्र महर्जनले मैदानबाट बाहिर पठाए ।
७८ औं मिनेटमा मरिसस ९ खेलाडीमा समेटियो । गौतम श्रेष्ठलाई फउल गरेपछि मरिससका इम्यानुएलले रातो कार्ड पाएका थिए ।
यस्तै खेलको इन्जुरी समयमा अन्जन विष्टले सिक्स यार्ड बक्स भित्रबाट प्रहार गरेको बल मरिससका गोलकिपरले उत्कृष्ट बचाऊ गरेपछि नेपाल अग्रता दोब्बर बनाउन चुकेको थियो ।
यस जितसँगै नेपालले मरिससविरुद्ध लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।
शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको थियो । नेपालको जितमा विमल घर्तिमगरले निर्णायक गोल गरेका थिए ।