काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताउनु भएको छ ।

राज्यमन्त्री श्रेष्ठले सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षाको छुट्टाछुट्टै कानुन बनाउन लागेको उल्लेख गर्दै ती कानुनहरु बनेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढि बन्ने बताउनु भएको हो ।

शनिबार काठमाडौंको सानो भ¥याङस्थित स्वस्तीश्री गुरुकुल विद्यालयले आयोजना गरेको एक कार्यक्रमलाई भर्चुअल माध्यामबाट सम्बोधन गर्दै उहाँले शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुर्‍याउने काममा सरकार लागि परेको बताउनु भयो । राज्यमन्त्री श्रेष्ठले भन्नुभयो, ‘अब संघीय कानुन बनि सकेपछि तीन वटा कानुन बन्दैछ । एउटा स्कुल लेवलको कानुन । टेक्निकल शिक्षाको कानुन र उच्च शिक्षाको काननु बन्छ । त्यो बनिसकेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढि बन्छ । त्यो कुराको अपेक्षा गरौं । यस कुरामा म तपाईहरुलाई आश्वस्त पनि गराउन चाहन्छु ।’

राज्यमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको विकासमा अझ सक्रियताका साथ लाग्न पनि निजी क्षेत्रका लगानीकर्ताहरुलाई आह्वान गर्नु भयो ।

कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष रामकृष्ण चित्रकारले विद्यालयको शैक्षिक क्रियाकलापका बारेमा जानकारी गराउनु भएको थियो ।