सर्मिला सुनुवार, रामेछाप । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले मुलुकमा भएका हरेक वरिपर्तनमा पत्रकारिता क्षेत्रको महत्वपुर्ण भुमिका रहेको बताउनु भएको छ ।
पत्रकार महासंघ रामेछापसँगको समन्वयमा नेपाल प्रेस काउन्सिलले सोमबार मन्थलीमा आयोजना गरेको पत्रकार आचारसंहिता र कोरोनाले पारेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
पत्रकारिता क्षेत्रमा भएको प्रविधिको विकाससंगै पत्रकार आचारसंहिता पालना पनि चुनौतीपुर्ण बन्दै गएकाले यसलाई ध्यानमा राखेर पत्रकारिता गर्न जिल्लाका पत्रकारहरुलाई उहाँले आग्रह गर्नुभयो । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले अहिलेको पत्रकारितालाई थप मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पत्रकार आचारसंहिताको पूर्ण कार्यान्वयन गरेर पत्रकारहरुले सकरात्मक सोचका साथ पत्रकारीता गर्नुपर्ने बताउनु भयो । पछिल्ला समयमा मर्यादित पत्रकारीता गर्ने पत्रकारहरु कमै रहेकाले यो क्षेत्रलाई मर्यादित बनाउनका लागि सरोकारवाला निकाय लाग्नुपर्नेमा उहाँको जोड छ । उहाँले मन्थली नगरपालिका भित्र सञ्चालन भएका सञ्चारमाध्ययमको संरक्षण र त्यसमा कार्यरत पत्रकारहरुको हक हितका लागि मन्थली नगरपालिकाले काम गरिरहेको दावीगर्दे आगामी दिनमा पनि थप प्रभावकारी काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यता र मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य चेतनाथ धमला र निवर्तमान सदस्य ईश्वरी ओझाले प्रेस काउन्सिल नेपालले गरिरहेको कामका बारेमा बोलेका थिए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सूचना अधिकारी एवं उपप्रशासकिय अधिकृत रामशरण बोहराले प्रेस काउन्सिल नेपालले अहिलेसम्म गरेको काम र त्यसको प्रभावका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

