काठमाडौं। सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टा वा मस्करी (प्र्याङ्क) गर्न सरकारले प्रतिबन्ध लगाएको छ। गृह मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै त्यस्तो गर्नेलाई कडा कारबाही हुने चेतावनी दिएको हो। 

मन्त्रालयले जारी विज्ञप्तिमा भनेको छ मस्करीको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रुपमा सास्ति दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरू गरेर सोको गोप्य भिडियो तयार गर्ने र उक्त भिडियो दृश्यांश सामाजिक सञ्जालहरूमा राख्ने कार्यहरू हुने गरेको गुनासोमा मन्त्रालयको ध्यानाकर्षण भएको छ। अनुमति सहमति बिना गरिने भद्दा प्रकृतिका मस्करी, ख्यालठट्टा जस्ता क्रियाकलापले मानसिक तनाब उत्पन्न हुने, वादविवाद र द्वन्द, सामाजिक शान्ति सुव्यवस्थामा समेत नकारात्मक असर पर्ने र व्यक्तिको गोपनीयता, प्रतिष्ठामा समेत असर पर्ने भएकाले त्यस्तो कार्य नगर्न सुझाएको हो। 

गृह मन्त्रालयले विज्ञप्तिको वेवास्ता गरी त्यस्तो कार्य सञ्चालन गरेको पाइए प्रचलित कानून बमोजिम कडा सजाय हुने जनाएको छ।