काठमाडौं । सेयर बजार घट्ने क्रम रोकिएको छ ।

पछिल्ला दिनहरुमा निरन्तर घटेको सेयर बजार आज भने झिनो अंकले वृद्धि भएको छ । सेयर बजारका लगानी कर्ताहरु अब सेयर बजार बढ्ने आसामा रहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.२९ अंकले बढेको हो । ०.१२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७७९.९३ अंकमा पुगेको छ । २ सय २४ वटा कम्पनीका ६६ लाख ७५ हजार २ सय ३१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६ सय ८४.०३ रुपियाँ बराबरको कारोबार भएको छ । वीन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको सेयर मूल्य १०/१० प्रतिशतले बढेको हो ।

सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्सको कारोबार भएको छ । सो कम्पनीको आज २० करोड २ लाख ६ सय ९७ रुपियाँ बराबरको कारोेबार भएको छ । नेशनलले आजमात्रै शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।