सिन्धुलीमाढी। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ। कार्यालयका कर्मचारीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएको भन्दै कार्यालयले सोमबार सूचना जारी गरेर सेवा बन्द गरेको हो।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै कार्यालयका विभिन्न शाखामा कार्यरत कर्मचारीहरू कोरोना सङ्क्रमण पुष्टि भएको र अधिकांश कर्मचारीहरूमा समेत मिल्दाजुल्दा लक्षण देखिएकाले सेवाग्राही एवम् अन्य कर्मचारीहरूमा समेत जोखिम हुन सक्ने भएकाले शान्ति सुरक्षा र मुद्दा सम्बन्धी सेवा बाहेकका अन्य सेवा बन्द गरेको जनाएको छ।
त्यस्तै कार्यालयले थप जानकारी तथा अत्यावश्यक परिस्थितिका लागि नागरिकता सम्बन्धमा रविन्द्र गौतम, राहदानी सम्बन्धमा भावना कार्की, राष्ट्रिय परिचयपत्र सम्बन्धमा मिथिला विष्ट र अन्य सेवाका लागि नहकुल ढकाललाई सम्पर्क गर्न भनेको छ।