काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडामगरलाई उत्कृष्ट बाहिनी अवार्ड प्रदान गरिएको छ। सशस्त्र प्रहरीबल नेपालले आफ्नो२१औँ सशस्त्र प्रहरी दिवसको अवसरमा मगरलाई अवार्डद्वारा सम्मान गरेको हो।
आइतबार सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले डीआइजी ठाडामगरलाई सो अवार्ड प्रदान गरेका हुन्। मगरलाई कार्य सम्पादनका आधारमा यसवर्ष सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी उत्कृष्ट बाहिनी घोषित भएको थियो।
स्थापना दिवसको अवसरमा प्रधानमन्त्री देउवाले असामान्य परिस्थितिमा स्थापना भई राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल, नेपालले प्रदर्शन गरेको व्यवसायिकता, कर्तव्य पालना र सेवाभावको प्रशंसा गरेका छन्। प्रधानमन्त्री देउवाले आम नागरिकको सेवा र राष्ट्रको सुरक्षा तथा सीमा सुरक्षाको साथै विभिन्न तहका निर्वाचन सुरक्षा, २०७२ सालको विनासकारी महाभूकम्पमा उद्वार, बिभिन्न प्राकृतिक प्रकोप तथा विपद्हरुमा उद्वार तथा राहत वितरण, कोभिड–१९ महामारी नियन्त्रण तथा डेडिकेटेड अस्पताल मार्फत संक्रमितहरुको स्वास्थ्य उपचारमा पु¥याएको योगदान, सीमा नाकामा आवतजावत नियन्त्रण तथा क्वारेन्टिन व्यवस्थापनमा सम्पादन गरेका कार्यहरु प्रशंसनीय रहेको बताए।

