सिन्धुली । घ्याङ्लेख गाउँपालिका स्थित प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो तथा सुझाबका लागि उजुरी पेटीकाको स्थापना गरिएको छ । घ्याङलेख गाउँपालिका वडा नं. २ का अध्यक्ष श्री एक बहादुर खड्काको प्रमुख आतिथ्यतामा उक्त उजुरी पेटिका स्थापना गरिएको हो ।

प्रदेश सरकार र प्रदेश प्रहरी कार्यालयको अगुवाईमा प्रहरी कर्मचारी, स्थानीय, शिक्षक तथा गाउँपालिकाका कर्मचारीहरुको समुपस्थितिमा प्रहरी अधिकारीहरुले गरेका कार्यहरुको बारेमा गुनासो र सुझाब लिने प्रयोजनका  लागि उक्त उजुरी पेटिका स्थापना गरिएको स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको अगाडी स्थापना गरिएको उजुरी पेटिकामा प्रहरी कर्मचारीले गरेका काम चित्त नबुझेमा र सुझाब दिने प्रयोजनका लागि गुनासो दिने उजुरीकर्ताको नाम ठेगाना गोप्य रहने गरी उजुरी पेटीका निर्माण गरिएको र त्यसरी आएका उजुरी प्रत्येक महिनाको अन्तमा सिलबन्दी गरी प्रदेश प्रहरी कार्यालय पठाईने व्यवस्था गरिएको छ । 

प्रहरी निरीक्षक सरोज राईका अनुसार प्रहरी कर्मचारीले आफूलाई दिएको जिम्मेवारी बफादरीताका लागि सम्पादन गर्न र हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नारा सार्थक बनाउँदै शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि उजुरी पेटीकाको स्थापना गरिएको बताएका छन् । साथै यसबाट प्रहरी कर्मचारीहरुको आचरणको विकास हुने समेत जनाएका छन् ।