ओखलढुङ्गा। सिद्धिचरण नगरपालिका ओखलढुङ्गामा सडक खन्ने क्रममा डोझरले लडाएको ढुङ्गाले गुडिरहेको बोलेरो जीप किच्दा तीन जनाको घटनाथलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। जीप दुर्घटना (आइतबार) आज बिहान ९ बजे भएको हो।
प्रहरीका अनुसार सिद्धिचरण नगरपालिका १ तलुवाबाट निशंखे हुँदै सदरमुकाम तर्फ आउँदै गरेको को १ ज ३५६९ नम्बरको बोलेरो जीप सिद्धिचरण नगरपालिका -३ ढुङ्गेनी खोलामा सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा तीन जनाको मृत्यु भएको हो। प्रहरी निरीक्षक नायब उपरीक्षक गोविन्दराज आफ्लेका अनुसार बोलेरो गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभिरमा डोजरले निकालेको ढुङ्गा पल्टिदा जीप दुर्घटनामा परेको हो।
जीपमा ६ जना सवार रहेकामा १ महिला १ पुरुष र १ बालिकाको मृत्यु भएको र चालक सहित अन्य ३ जना घाइते भएको प्रहरीले जनाएको छ। मृत्युहुनेहरूमा मानेभञ्ज्याङ गाउँपलिका वडा नं. १ का ३० वर्षिय हेम बहादुर मगर, सिद्धिचरण नगरपालिका वडा नं. ३ का १० वर्षिय युशक कोइराला र सोही ठेगाना भएकी ७ वर्षिया युनिशा कोईराला रहेका छन्।
घाइतेहरूको उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी भईरहेको छ।

