रामेछाप । रामेछाप स्थित उमाकुण्ड गाउँपालिकाले नोभेम्बर २५ देखि सुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसँगै सम्पन्न गरेको छ ।
विश्वभर नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चलिरहेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा गाउँपालिकाले लैङ्गिक हिंसा र यसको प्रभाव तथा लैङ्गिक हिंसा न्युनीकरण सम्बन्धी व्यवस्थाको विषयमा जानकार गराउने उद्देश्यले वडास्तरीय अन्तरक्रिया कार्यक्रम सबै वडाहरुमा सञ्चालन गरेको होे ।
गाउँपालिकाले भौगोलिक विकटताका कारण पालिका स्तरमा कार्यक्रमगर्दा सबै वडाका सहभागिहरुलाई उल्लेखनीयरुपमा सहभागि गराउन असहज हुने भएपछि वडास्तरमा नै कार्यक्रम आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष उर्मीला कार्की वस्नेतले जनाएकी छन् ।
वडास्तरको कार्यक्रममा वडाका निर्वाचित जनप्रतिनिधि, विद्यालयका शिक्षक/शिक्षिका, बाल क्लवका छात्र/छात्राहरु, महिला स्वास्थ्य स्वयंमसेविका, आमा समूह सञ्जालका सदस्यहरु र विवाहित जोडीहरुलाई सहभागी गराईएको थियो ।
महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा पालिकाले मंसिर १९ गते देखि २४ गते सम्म सबै वडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेर डिसेम्बर १० अर्थात मंसिर २५ गते मानवअधिकार दिवस तथा अभियानको अन्तिम दिन साँझ गाउँपालिकामा दीप प्रज्वलन गरी अभियानको समापन गरिएको गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले जनचासो स्रोतलाई जनाएका छन् ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २००५ देखि प्रत्येक वर्ष नोेभेम्बर २५ देखि डिसेम्बर १० सम्मलाई महिलाविरुद्ध हुने हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने गरेको छ । नेपालले भने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०५४ सालदेखि मनाउँदै आइरहेको छ ।
यसवर्ष नेपालले "लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता; व्यक्ति, समाज र सबैको ऐक्यवद्धता" भन्ने मूल नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान थालेको थियो ।

