सिन्धुलीमाढी। सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीले समयमै स्थानीय तहको निर्वाचन गर्न माग गरेका छन्। शनिबार नगरपालिकामा पत्रकार सम्मेलन गरेर नेपालको संविधान अनुसार समयमा निर्वाचन गर्न माग गरेका हुन् ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगर प्रमुख खत्रीले भने ‘नेपालको संविधान २०७२ ले स्थानीय सरकार खालि राख्ने परिकल्पना गरेको छैन । समयमा निर्वाचन नगराएर जनताको मताधिकारलाई कुण्ठित गर्ने, स्थानीय सरकार बिहिन स्थानीय तह बनाउने, म्याद थप्ने जस्ता विषयले लोकतन्त्रलाई नै कमजोर बनाउँछ।’ पत्रकार सम्मेलनमा आफ्नो माग देशभरीका स्थानीय तहका जनप्रतिनीधिहरुको प्रतिनिधि मुलक माग भएको खत्रीले दाबी गरेका छन् ।
नगर प्रमुख खत्रीले विज्ञप्ति जारी गर्दै समयमै सबै स्थानीय तहको निर्वाचन आगामी बैशाखमा गर्न माग गरेका हुन्। स्थानीय तहका पदाधिकारीको पाँचवर्षे कार्यकाल आगामी जेठ ५ गते सकिने भएको हुँदा समयसमै संविधानको मर्म अनुसार स्थानीय तहको निर्वाचन हुने वातावरण सिर्जना गर्न निर्वाचन आयोग, केन्द्रीय सरकार, राजनीतिक दल, आम जनसमुदाय, अधिकारकर्मी, नागरिक समाज तथा सञ्चारकर्मी लगायतलाई खत्रीले पत्रकार सम्मेलन मार्फत खबरदारी गरेका हुन्।
विज्ञप्तिमा आगामी बैशाखमा सबै स्थानीय तहको निर्वाचित जनप्रतिनीधिहरुको समयावधि सकिने भएपनि सरकार, राजनीतिक दलहरु विभिन्न बहानामा निर्वाचनलाई पछि धकेल्ने प्रयत्नमा लागेको जसले संविधानको मुल मर्म र जन अधिकार माथीकै प्रहार हुने उल्लेख छ। आफ्नो राजनीतिक अभिष्ठ पूरा गर्ने गरि सिङ्गो लोकतान्त्रीक संस्थामाथि नै प्रहार गर्ने गरी नेताहरुबाट पछिल्ला अभिव्यक्ति, सञ्चारमाध्यममा आएको समाचार प्रति गम्भीर ध्यानकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
नगर प्रमुखले जारी गरेको विज्ञप्ति प्रधानमन्त्री तथा राष्ट्रिय निर्वाचन आयोगलाई समेत बुझाइने छ। संविधानमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र अर्को निर्वाचन गर्नुपर्ने व्यवस्था गरिएको छ भने निर्वाचन ऐनमा कार्यकाल सकिनु दुई महिना अगाबै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ।

