सिन्धुली । घ्याङलेख गाउँपालिकाले राजश्व प्रणाली चुस्त, दुरुस्त बनाउन विद्युतिय राजश्व प्रणाली सुरु गरेको छ । पालिकाले मङ्गलबारबाट सम्पूर्ण सेवाग्राहिलाई विद्युतिय प्रणालीबाट सेवा सुचारु गरेको हो । 

गाउँपालिकाले प्रवाह गर्ने विभिन्न सेवा प्रावहमा सहज र छरितो बनाउन तथा पालिकाभरका राजश्वको गतिविधिलाई एकै प्रणालीमा ल्याउन उक्त विद्युतिय प्रणालीबाट राजश्व सङ्कलन थालिएको गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलनले जनाएका छन् ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत राम कुमार कार्कीका अनुसार यस विद्युतिय प्रणालीले गाउँपालिकाको सबै वडामा भएका राजश्व सम्बन्धी गतिविधि एकै ठाउँबाट बसेर हेर्न सकिने बताएका छन् । विद्युतिय प्रणालीमा आएपछि कार्यालयमा हुने गरेका नगदि रसिद काट्ने झन्झटबाट मुक्त भएको तथा हिसाब र श्रेस्ता राख्न समेत सहज हुने भएको छ । प्रमुख प्रशासकीय अधिकृत कार्कीका अनुसार राजश्व प्रणालीमा ल्याईएको यस किसिमको सुधारले राजश्वको लक्ष्य प्राप्तिमा सहज हुने, योजना तर्जुमा गर्न र राजश्वको दायरा यकिन गर्न समेत सहयोग पुग्ने उल्लेख गरेका छन् ।