काठमाडौं। सार्वजनिक स्थानमा मास्क नलगाई हिँड्डुल गर्नेहरुलाई काठमाडौं जिल्ला प्रशासनले जरिबाना गरेको छ। बुधवार जिल्ला प्रशासन कार्यालय काठमाडौंको सुन्धारा र कलंकी लगायतका सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएका आम नागरिकहरुलाई जनही एक सय रुपैयाँका दरले जरिबाना गरेको हो।

जिल्ला प्रशासनले काठमाडौंको सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ । अनुगमनपछि सञ्चारकर्मीहरुसँग बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले सार्वजनिक क्षेत्रमा हिँड्डुल गर्ने आम सर्वसाधारणहरुलाई पनि सरकारले जारी गरेको कोरोना सम्बन्धी स्वास्थ्यका मापदण्डको बारेमा सचेत गराइएको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी केसीले सबैभन्दा ठूलो र महत्वपूर्ण अनुगमन कर्ता भनेको नै नागरिक भएकोले नागरिक नै सचेत बनेर सरकारले जारी गरेका कोरोनासम्बन्धी स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरे ।